अर्जेन्टिनाका उपराष्ट्रपतिलाई भ्रष्टाचार आरोपमा ६ वर्षको जेल सजाय
अखबार टुडे
प्रकाशित:
२०७९, २२ मंसिर

काठमाडौं, २२ मंसिर । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डी कर्चरलाई भ्रष्टाचारको आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ ।

अदालतले उपराष्ट्रपति कर्चरलाई सार्वजनिक निर्माणको कामको ठेक्का आफ्नो साथीलाई दिएको मुद्धामा जेल सजाय सुनाएको हो ।

दोषी ठहर भएकी ६९ वर्षीया कर्चरलाई कुनै पनि सार्वजनिक पदमा बस्न नपाउने फैसला गरिएको बीबीसीले जनाएको छ । तर उपराष्ट्रपति कर्चरले माथिल्लो अदालतमा अपील गर्ने बाटो खुला रहेको छ ।

यो व्यवस्था अनुसार उनी जेल जाने सम्भावना भने कम छ । कर्चरले आफूमाथि लगाइएको आरोप राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएकी छन् । बहालवाला उपराष्ट्रपतिलाई भ्रष्टाचार आरोपमा जेल सजाय नै दिने अदालतको फैसला अर्जेन्टिनाको इतिहासमा पहिलो पटक हो ।

सन् २००७ देखि २०१५ सम्म राष्ट्रपति रहेको बेला क्रिस्टिनाले सार्वजनिक निर्माणको ठूलो काम आफ्ना व्यापारी साथीलाई जिम्मा दिएर घुस लिएको ठहर छ । यो विषयमा ११ जनाविरुद्ध मुद्दा चलिरहेको र ती मध्ये ७ जना दोषी ठहर भइसकेका खबरमा उल्लेख छ । तीन जना रिहा भएका थिए ।

निर्माण कम्पनीका मालिक व्यापारी लाजारो बेजलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । साथै गएको वर्ष मनी लान्ड्रिङको आरोपमा उहाँलाई १२ वर्षको जेल सजाय समेत सुनाइएको थियो ।

प्रतिक्रिया