प्रदूषण जाँचपास विना सवारी साधन चलाए एक लाखसम्म जरिवाना
अखबार टुडे
प्रकाशित:
२०७९, २२ मंसिर

काठमाडौं, २२ मंसिर । सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते देखी विभागको परीक्षणमा प्रदूषण जाँचपाँस नभएका सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो ।

विभागले हाल काठमाडौं उपत्यकाभित्र सञ्चालित सवारी साधनहरुमा छड्के जाँच गर्दै आएको जनाएको छ। ती मध्ये अधिकांश सवारी साधनले प्रदूषण जाँचपास नगरेको पाइएको थियो ।

सवारी साधनबाट निस्किने धुँवा परीक्षण गर्दा तोकिएको मापदण्ड भन्दा बढी प्रदूषण गरिरहेको पाइएकालाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न भनिएको छ ।

अब २०७९ पुस १ गतेपछि भने नगदै जरिवाना गर्ने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र सञ्चानमा ल्याउन दिने विभागद्वाारा जारी गरेको सूचनामा उल्लेख छ ।

विभागले आज (बिहिबार) एक सुचना जारी गदै खुल्ला रुपमा फोहोर जलाउने र वातावरणमा असर गर्ने क्रियाकलाप गर्नेलाई पनि कारर्बाही गर्ने बताएको छ ।

विभागले आफ्नो टोल छिमेकमा कसैले खुल्ला रुपमा फोहोर जलाउने काम गरिरहेको भए पनि जानकारी दिन आग्रह गरेकाो छ । त्यस्तो जानकारी दिनेको परिचय गोप्य राख्ने र खुल्ला रुपमा फोहोर जलाउनेलाई कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

प्रतिक्रिया