स्रोतमै रोकियो फोहोरको वर्गीकरण कार्य, के भन्छ काठमाण्डौं महानगर ?
अखबार टुडे
प्रकाशित:
२०७९, २१ मंसिर

काठमाडौं, २१ मंसिर । झण्डै पाँच महिनाअघि काठमाण्डौ महानगरपालिकाले सुरु गरेको स्रोतमै फोहर वर्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगित भएको छ ।

गएको साउन १ गतेदेखि काठमाण्डौ महानगरपालिकाले ३२ वटै वडाबाट स्रोतमै फोहर वर्गीकरण गरेर मात्रै फोहोर उठाउन सुरु गरेको थियो । सुरुको एक दुई हप्ता योजना अनुसार काम भए पनि यसले निरन्तरता भने पाउन सकेन ।

महानगरका मेयर बालेन्द्र शाहको सचिवालय सदस्य सुनिल लम्सालले ठाउँ अभावका कारण यो कार्यले निरन्तरता पाउन नसकेको बताए । खुला ठाउँको अभाव भएकाले केन्द्र सरकासँग एकै ठाउँमा कम्तीमा दुई सय रोपनी जग्गा उपलब्ध गराउन महानगरले माग गरेको छ ।

महानगरलाई कानुनीरुपमा आफ्नो क्षेत्रभन्दा बाहिर जग्गा अतिग्रहण गर्ने अधिकार छैन । त्यसैले केन्द्र सरकारलाई आग्रह गरिएको उनले बताए । ठाउँ पहिचान भएसँगै महानगरले कुहिने फोहरको प्रयोग गरी मल बनाउने तयारी गरेको छ ।

हरेक दिन काठमाण्डौ उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा अन्तिम विसर्जन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी महानगरको पाँच सय मेट्रिक टन फोहर जान्छ ।

निजी क्षेत्रबाट दुई सय गाडीले फोहर ओसार्छन् । काठमाण्डौ उपत्यकाको १८ पालिकाको फोहर दैनिकरूपमा बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।

प्रतिक्रिया