आगामी सरकार गठनका लागि गठबन्धनलाई सिके राउतको समर्थन भए पुग्छ
अखबार टुडे
प्रकाशित:
२०७९, २१ मंसिर

काठमाडौं, २१ मंसिर। आम निर्वाचनको नतिजा आइसकेको छ । यससँगै दलहरु नयाँ सरकार गठन गर्ने प्रक्रियामा जुटेका छन् । सत्ता गठबन्धनमा रहेका शीर्ष नेताहरुबीच केही दिनयता देखि नै सरकार गठनबारे छलफल गर्दै आएका छन् ।

तर, समानुपातिकतर्फको मतपरिणाम आइनसक्दा छलफलले तिव्रता पाएको थिएन । मंगलबार साँझ समानुपातिकतर्फको पनि परिणाम आइुसकेको छ ।

प्रत्यक्ष र समानुपातिकतर्फको सीट संख्या आधारमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिटसहित जम्मा ८९ सिट प्राप्त गर्दै कांग्रेस सबैभन्दा ठुलो दल बनेको छ ।

यस आधारमा कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्न सक्छ । त्यसका लागि अहिले सत्ता गठबन्धनकारहेका बाहेक सीके राउत नेतृत्वको जनमत पार्टीले समर्थन गर्नेवित्तिकै कांग्रेसको नेतृत्वमा सरकार गठन हुन सक्छ ।

नेपाली काँग्रेसले प्राप्त गरेको ८९ सीट, नेकपा माओवादी केन्द्रको ३२ सीट, नेकपा एकीकृत समाजवादीको १० सीट, लोकतान्त्रिक समाजवादी पार्टीको ४ सीट, राष्ट्रिय जनमोर्चाको १ सीट जोडेर १३६ सिट पुगेको छ ।

यसैमा जनमत पार्टीको ६ सीट जोडिनेवित्तिकै सत्ता गठबन्धनलाई सरकार गठनका लागि १४२ सीट पुग्नेछ । १३८ सीटमा नै सत्ता गठबन्धनलाई बहुमत पुग्ने भएकाले बहुमत पुगेर पनि ३ सीट बढी हुनेछ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सिट प्राप्त गर्ने भएका छन् ।

उनीहरुले प्राप्त गर्ने सिट संख्या उल्लेख गर्दै आयोगले थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने ७ वटै दललाई पत्राचार गरेको छ ।

आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ति दलले अबको ३ दिनभित्र आफुले प्राप्त गरेको सिट संख्या अनुसारको उम्मेदवारको नामावली आयोगको निर्देशिकामा टेकेर तोकिएको कलस्टर अनुसार पेश गर्नुपर्नेछ ।

पेश गरेको सूची नमिलेमा आयोगले थप २ दिनको समयसिमा दिएर दललाई सच्याउने मौका दिनेछ । त्यसपछि मात्रै आयोगले निर्वाचित उम्मेदवारको नामावली घोषणा गर्नेछ ।

यस निर्वाचनमा एमाले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सीटसहित जम्मा ७८ सीट प्राप्त गर्दै दोस्रो दल बनेको छ भने माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरेर जम्मा ३२ सीटसहित तेस्रो दल बनेको छ ।

पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा सहभागी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ १३ सिट गरेर जम्मा २० सिट प्राप्त गरेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ ७ सिट गरेर जम्मा १४ सिट प्राप्त गर्दै पाचौँ दल बनेको भने प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ ५ गरेर जम्मा १२ सीट प्राप्त गर्दै जनता समाजवादी पार्टी छैटौ दल बनेको छ ।

प्रत्यक्षतर्फ १ सीटमात्रै जितेको सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेस होल्ड कटाएर ५ सिटसहित जम्मा ६ सिट प्राप्त गरेको छ । जनमत पार्टीसहित यसपटक संसदमा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेको संख्या ७ पुगेको छ । २०७४ सालको निर्वाचनमा ५ दलमात्रै राष्ट्रिय दल बन्न सफल भएका थिए ।

बाँकी ६ दलले भने समानुपातिकतर्फ थ्रेस होल्ड नकटाएका कारण प्रत्यक्षतर्फ मात्रै जित हासिल गरेका छन् । जसमा प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेर समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होल्ड कटाउन नसकेको नेकपा एकीकृत समाजवादी प्रतिनिधि सभामा सातौँ दलका रुपमा प्रस्तुत भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी ४ सिट, नागरिक उन्मुक्ति पार्टी ३ सिट, राष्ट्रिय जनमोर्चा १ सिट, नेपाल मजदुर किसान पार्टी १ सिटसहित संसदमा सहभागी हुँदैछन भने स्वतन्त्रबाट ५ जना प्रतिनिधिसभामा सहभागी हुदैँछन् ।

प्रतिक्रिया