हैटीको राजधानी गुन्डाहरूको घेराबन्दी, प्रधानमन्त्री कार्यालय जान नसक्ने अवस्था
अखबार टुडे
प्रकाशित:
२०७९, २१ मंसिर

काठमाडौं, २१ मंसिर । राज्यविहीन अवस्थामा पुगेको हैटीमा सशस्त्र गुण्डाहरूको प्रभावका कारण प्रधानमन्त्रीसमेत कार्यालय जान नसक्ने अवस्था आएको छ ।

पछिल्ला राष्ट्रपतिलाई कार्यालयमै गोली हानेर हत्या गरेपछि अहिले हैटीमा संसद् छैन । अमेरिकाले समर्थन गरेका प्रधानमन्त्री आरियल अनरीले राज्य चलाउन सकेका छैनन् । बीबीसीका अनुसार अनरीलाई धेरैले प्रधानमन्त्री नै नमान्ने जनाएको छ ।

राज्यविहीन अवस्थामा पुगेको हैटीको आधा जनसङ्ख्या अर्थात् झन्डै ४७ लाख मानिस भोकमरीको चपेटामा रहेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

अहिले सशस्त्र गुन्डाहरूले देशका विभिन्न क्षेत्र कब्जा गरेका छन् । सशस्त्र समूहले कब्जा गरेको एउटा क्षेत्रका मानिस अर्को क्षेत्रमा पुगे भने हत्यासमेत हुने गरेको छ । सशस्त्र समूहले अपहरण, बलात्कार तथा हत्याका शृङ्खला मच्चाइरहेका छन् ।

संयुक्त राष्ट्र सङ्घका अनुसार बितेको १० महिनामा अपहरणका एक हजार एक सय सात वटा घटना भएका छन् । सामूहिक बलात्कारका घटना सामान्यजस्ता बन्न थालेका छन् । मानिसहरू रात परेपछि घरबाहिर निस्कनै सक्दैनन् ।

संसद्को वरपरको क्षेत्र तथा राजधानी भित्रिने र बाहिरिने सडक सशस्त्र समूहको पूर्ण नियन्त्रणमा रहेको छ । राजधानी पोर्टो प्रिन्समा जथाभाबी फोहर थुप्रिएको छ ।

प्रतिक्रिया