समानुपातिकको मतगणना सकियो, कसले कति सीट पाए ?
अखबार टुडे
प्रकाशित:
२०७९, २० मंसिर

काठमाडौं, २० मंसिरं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फको मत गणना पनि सकिएको छ ।
निर्वाचन आयोगका अनुसार सबै जिल्लाबाट मतगणना सकिएको जानकारी आएको छ भने अहिले रुजु गर्ने काम भइरहेकाले केही मत तलमाथि हुनसक्छ । तर, यो पद्धतिबाट निर्वाचित हुने ११० सीटमध्ये दलहरुले पाउने सिट संख्या भने करिब टुंगो लागिसकेको आयोगले जनाएको छ ।

कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल बनेको छ । यसअनुसार एमालेले ३४ सिट पाउनेछ ।

प्रत्यक्षतर्फ ४४ सीट जितेको एमाले ७८ सांसदसहित प्रतिनिधिसभाको दोस्रो दल बनेको छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ । यसअनुसार उसले ३२ सिट पाउने छ । प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेस ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बनेको छ ।

माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो दल बनेको छ । उसले ११ लाख ७५ हजार ६८४ मत पाएको छ र, १४ सिट पाउनेछ । प्रत्यक्षतर्फ उसले १८ सिट जितेको छ । दुबै जोड्दा उसको ३२ सिट पुग्छ ।

प्रमुख तीन दलले समानुपातिकतर्फ मत गुमाएका छन् । एमालेले २०७४ मा ३१ लाख ७३ हजार ४९४ अर्थात ३३.२४८५ प्रतिशत मत पाएको थियो भने कांग्रेसले ३१ लाख २८ हजार ३८९ अर्थात सदर मतको ३२.७७५९ प्रतिशत मत पाएको थियो । यो पटक दुबै दलले करिव ६ प्रतिशत विन्दुले मत गुमाएका छन् ।

माओवादीले अघिल्लो पटक १३ लाख ३ हजार ७२१ मत अर्थात १३.६५९० प्रतिशत मत पाएको थियो । उसले पनि करिव २ प्रतिशत विन्दुले समानुपातिक मत गुमाएको छ ।

ठूला दलहरुको मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपातिर गएको देखिन्छ । यो चुनावमा उदाएको रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्दा समानुपाातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको छ । यसअनुसार उसले १३ सिट पाउने छ ।

अघिल्लो पटक थ्रेस होल्ड कटाउन नसकेको राप्रपाले यो पटक ५ लाख ८८ हजार ३१३ मत पाएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको उसले समानुपातिकमा पनि ७ सिट नै पाउनेछ र १४ सांसदसहित संसदको पाँचौ दल हुनेछ ।

यस्तै, तराई मधेश केन्द्रित दलमध्ये जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा)को भोट सीके राउत नेतृत्वको जनमत पार्टीले काटेको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपाले ४ लाख २१ हजार ३१३ मत पाएर थ्रेसहोल्ड कटाएको छ । उसले ५ सिट पाउनेछ जबकी, अघिल्लो चुनावमै उसले ४ लाख ७० हजार २०१ अर्थात ४.९२६३ प्रतिशत मत पाएको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने थ्रेस होल्ड नै कटाउन सकेन । जबकी महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीले अघिल्लो पटक ४ लाख ७२ हजार २५४ अर्थात ४.९४७८ प्रतिशत भोट पाएको थियो । पहिलो पटक संसदीय चुनाव लडेर सप्तरी २ मा उपेन्द्र यादवलाई हराएका सीके राउत नेतृत्वको पार्टी जनमत पार्टीले भने जसपाकै सरह ५ सिट पाउने भएको छ । उसले समानुपातिकतर्फ ३ लाख ९४ हजार ६५५ मत पाएको छ ।

७ दलले समानुपातिकको थ्रेस होल्ड (कुल सदर मतको ३ प्रतिशत) कटाएका छन्, प्रत्यक्षतर्फ पनि चुनाव जितेका ती पार्टीहरुले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।

प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी, ४ सिट जितेको लोसपा, ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टी र एक–एक सिट जितेको नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने थ्रेसहोल्ड कटाउन सकेनन् ।

प्रतिक्रिया