समानुपातिकतर्फ एमाले पहिलो पार्टी, एकीकृत समाजवादी राष्ट्रिय दल बन्न असफल
अखबार टुडे
प्रकाशित:
२०७९, २० मंसिर

काठमाडौं, २० मंसिर । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले पहिलो पार्टी बनेको छ । निर्वाचन आयोगका अनुसार मंगलबार १ करोड ५ लाख २३ हजार ७१३ मत गणना हुँदा एमालेले २८ लाख ३१ हजार २७६ मत ल्याएर पहिलो स्थान कायम गरेको हो ।

नेपाली कांग्रेसले २७ लाख ४ हजार ४२७ मत ल्याएर दोस्रो स्थानमा रहेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ७० हजार २६२ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २७ हजार ११३ मत ल्याएर चौंथो स्थान कायम गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८७ हजार ८५५, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ५५, जनमत पार्टीले ३ लाख ९४ हजार ५९९ मत पाएका छन् ।

यसैगरी, नेकपा एकीकृत समाजवादीले २ लाख ९७ हजार ८४३, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७०६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख ६७ हजार ३४० मत ल्याएका छन् ।

हालसम्मको सार्वजनिक मतगणनामा थ्रेस होल्ड नकटाउँदा एकीकृत समाजवादी र लोसपा समेत राष्ट्रिय पार्टी बन्न सकेका छैनन् । राष्ट्रिय दल बन्न समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत मत कटाउनुपर्ने प्रावधान छ ।

मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् ।

प्रतिक्रिया