२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार पुरस्कार
अखबार टुडे
प्रकाशित:
२०७९, २० मंसिर

काठमाडौं, २० मंसिर । कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ ।

वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ । बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताए ।

‘बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ । उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी रहेको छ,’ उनले भने ।

दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु १० हजार नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिए । ‘हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौँ। यसले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ,’ उनले भने ।

विद्यालयस्तरमा र बालविवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेषरूपमा नगरपालिकाले अगाडि बढाएको नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले बताए ।

‘अहिले उमेर पुगेपछि विवाह गर्ने किशोरीलाई एउटा वडामा मात्रै पुरस्कार दिने निर्णय गरेका छौँ । आगामी दिनमा नगरपालिका सबै वडामा यो कार्यक्रम लागू गर्ने योजना रहेको छ,’ उनले भने ।

प्रतिक्रिया