लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङ सारियो
अखबार टुडे
प्रकाशित:
२०७९, २० मंसिर

दाङ, २० मंसिर । लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय र निजी सचिवालय दाङको देउखुरीमा सारिएको छ । अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्रीको कार्यालय र मुख्य सचिव कार्यालयका सबै सामग्रीहरू गए राति दाङ ल्याइएको हो ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले भने, ‘हिजो बुटवलबाट मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचरलगायत सामग्री दाङ ल्याइएको छ । अब मुख्यमन्त्रीले यहीँबाट काम गर्नुहुनेछ ।’

मंगलबार बिहानैदेखि देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको उनले बताए । सोमबार राति मुख्यमन्त्री कार्यालय र सचिवालयका फर्निचर लगायतका सामान बोकेर मुख्यमन्त्रीसहितको टोली बुटवलबाट स्थायी राजधानी देउखुरीका लागि हिंडेको थियो ।

यससँगै बुटवलस्थित मुख्यमन्त्रीको अस्थायी मुकाम बन्द गरिएको छ । राति बुटवलबाट सामान लिएर हिँडेको ट्रक आज बिहान दाङ देउखुरी आइपुगेको थियो ।

लुम्बिनी प्रदेशसभाको दुई तिहाइ बहुमतले २०७७ साल असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा घोषणा गरिएको थियो । तर देउखुरीमा संरचनाको अभाव देखाउँदै दुई वर्षसम्म पनि राजधानी स्थानान्तरण हुन सकेको थिएन ।

अहिले भने राप्ती प्राविधिक शिक्षालय रहेका भवनहरुमा मन्त्रालयहरु स्थानान्तरणको काम भइरहेको छ । करिब १८ विघा क्षेत्रफलमा रहेको राप्ती प्राविधिक शिक्षालय परिसरमा ४० बढी साना/ठूला भवनहरु छन् ।

लुम्बिनी प्रदेश राजधानीको मुख्य प्रशासनिक केन्द्र यहीँ रहनेछ । प्रदेश सभाका लागि नवनिर्मित भवन पनि तयार भइसकेको बताइएको छ । नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई मंसिर महिनाभित्रै नवनिर्मित प्रदेश सभा भवनमा सथप ग्रहण गराउने गरी तयारी भइरहेको छ ।

राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयलाई भने गढवा गाउँपालिकाको गोबरडिहास्थित सरस्वती उच्च माविमा स्थानान्तरण गरिसकिएको छ । मंसिरभित्रै सबै मन्त्रालय देउखुरीमा स्थानान्तरण गरिसक्ने प्रदेश सरकारको तयारी छ ।

प्रतिक्रिया