इंग्ल्याण्डका रहिम स्टर्लिङ कतार विश्वकपबाट स्वदेश फर्कने
अखबार टुडे
प्रकाशित:
२०७९, १९ मंसिर

काठमाडौं, १९ मंसिर (एजेन्सी) । इंग्ल्याण्डका रहिम स्टर्लिङ कतारमा जारी विश्वकप फुटबल २०२२ का बाँकी खेलहरुमा नदेखिने सम्भावना बढेको छ ।

उनी आफ्नो इंग्लिस टिमलाई छाडेर दोहाबाट घर फर्कन लागेका हुन् । आइतबार अन्तिमा १६ मा सेनेगलमाथि ३-० को जितपछि स्टर्लिङ इंग्ल्यान्ड फर्कन लागेको इंग्लिस व्यवस्थापक गेराथ साउथगेटले पुष्टि गरे ।

उनले कुनै बेला कसैको जीवनमा फुटबलभन्दा पनि आफ्नो परिवार ठूलो हुने बताएका थिए । स्टर्लिङको लन्डनस्थित घरमा केही हतियारधारी प्रवेश गरेर लुट्न खोजेपछि उनी घर फर्कन लागेका बताइएको छ । उनको घरमा यसअघि पनि सन् २०१८ मा हतियारधारीहरू प्रवेश गरेर लुट्ने प्रयास भएको थियो ।

‘अहिले स्पष्ट रूपमा उसको प्राथमिकता उसको परिवारसँग रहनु हो । हामी त्यसलाई समर्थन गर्नेछौं र उसलाई जति समय चाहिन्छ त्यो छोड्नेछौं,’ साउथगेटले भने, ‘अहिलेको यो अवस्थामा उसलाई आफ्नो परिवारसँग सामना गर्न समय चाहिन्छ र म उसलाई कुनै दबाबमा राख्न चाहन्न । कहिलेकाहीं फुटबल सबैभन्दा महत्त्वपूर्ण कुरा होइन र परिवार पहिलो हुनुपर्छ ।’

साउथगेटले स्टर्लिङका लागि घर गएर फेरि दोहा फर्कनका लागि आवश्यक समय दिने पनि बताएका छन् । तर आउने शनिबार फ्रान्सविरुद्धको क्वार्टरफाइनल खेलका लागि तोकिएकै समयमा फर्कने कि नआउनेमा शंकाका साथ स्वदेश फर्किने बताइएको छ ।

प्रतिक्रिया