
काठमाडौं, १९ मंसिर । फ्रान्सका युवा फवार्ड केलियन एम्बाप्पे गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन् ।
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत नकआउट चरणका खेलहरू जारी रहेका बेला सर्वाधिक गोलकर्ताको होडमा एम्बाप्पे अगाडि छन् ।
राउण्ड १६ को खेलमा गए राति पोल्याण्डविरुद्ध दुई गोल गर्दै एम्बाप्पेले जारी विश्वकपमा आफ्नो गोल संख्या ५ पुर्याएका छन् । दुई असिस्ट समेत गरेका उनी गोल्डेन बुटका लागि दाबेदार देखिएका हुन् ।
फ्रान्सले कम्तीमा पनि अझै एक खेल खेल्ने पक्का छ । त्यसमा पनि गोल गरेमा एमबाप्पेले गोल संख्या अझ बढाउनेछन् । फ्रान्सले अब क्वाटरफाइनल इङ्ल्याण्डविरूद्ध खेल्नेछ ।
समूह चरणमा अष्ट्रेलिया विरुद्ध एक गोल गरेका एमबाप्पेले डेनमार्क विरुद्ध दुई गोल गरेका थिए । एम्बाप्पेले २०१८ को विश्वकपमा भने कुल ४ गोल गरेका थिए ।
जारी विश्वकपमा एमबापेपछि धेरै गोल गर्नेमा अर्जेन्टिनाका लियोनेल मेसी, फ्रान्सकै ओलिभर जिरोउड, ईङल्याण्डका मार्कस राशफोर्ड र बुकाया साका, स्पेनका अल्भारो मोराटा, नेदरल्याण्डका कोडी गाक्पो र इक्वेडरका इनर भलेन्सिया छन् । उनीहरुले समान ३ गोल गरेका छन् । इक्वेडर भने विश्वकपबाट बाहिरिसकेका छन् ।
आइतबार पोल्याण्ड फ्रान्ससँग ३–१ गोल अन्तरले पराजित भएका थिए । अल थुमाना रंगशालामा भएको खेलमा फ्रान्सका लागि केलिएन एम्बाप्पेले दुई तथा ओलिभर जिरुडले एक गोल गरे ।
यो गोलसँगै जिरूडले फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बनाए । उनले फ्रान्सको जर्सीमा ११६ खेल खेल्दै ५२ गोल गरिसकेका छन् । यसअघि यो कीर्तिमान थियरी हेनरीको नाममा थियो। थियरीले १२३ खेलमा ५१ अन्तर्राष्ट्रिय गोल गरेका थिए।
