फिफा विश्वकप : इतिहास रचेर समूह चरणबाट बाहिरियो क्यामरुन
अखबार टुडे
प्रकाशित:
२०७९, १७ मंसिर

काठमाडौं, १७ मंसिर । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) विश्वकप फुटबल प्रतियोगिताको इतिहासमै अफ्रिकी मुलुक क्यामरुनले शुक्रबार नयाँ इतिहास बनाएको छ ।

पाँचपटक विश्वकप फुटबलको उपाधि जितेको ब्राजिललाई क्यामरुनले शून्यका विरुद्ध एक गोलले हराएर नयाँ इतिहास रचेको हो ।

ब्राजिलसँगको खेलमा शानदान जित निकालेको क्यामरुन समूह चरणको खेलबाट बाहिरिएको छ । यद्यपि क्यामरुनका मुख्य प्रशिक्षक रिगोवर्ट सोङले पाँच पटकको विश्वविजेतालाई आफ्ना खेलाडीले हराएकामा क्यामरुनमात्र नभइ समग्र अफ्रिकी महादेशका निम्ति गर्वको विषय भएको बताए ।

उनले दोभाषेको सहायतामा एशोसिएटेड प्रेस (एपी)सँग कुरा गर्दै युवा वर्गलाई अवसर दिएमा लक्ष्य हासिल गर्न सहज हुने बताए । आफ्नै युवावयको स्मरण गर्दै उनले स्थानीय फुटबल क्लबमा खेलिरहेको आफूलाई सन् १९९४ को विश्वकपमा आफ्ना प्रशिक्षकले अवसर दिएको बताए ।

युवाको सामथ्र्यमा विश्वास गरेर नै उनका गुरुले आफूलाई विश्वकप खेल्ने मौका दिएको बताउँदै उनले २४ वर्षीय जेरोम एनगोम एमबेकीलाई मैदानमा उतारेको खुलासा गरे ।

ब्राजिलबाट ठूलो दबाब खेपिरहेको क्यामरुनलाई खेलाडी परिवर्तनको आवश्यकता समेत परेको थियो । नब्बे मिनेटको निर्धारित समयभित्र गोलरहित बराबरीमा नै दुवै टिम भिडिरहेका बेला थपिएको नौ मिनेटको उपयोग गर्न सोङले एमबेकीलाई मैदानमा उतारेका थिए ।

अतिरिक्त समयको ७ मिनेटमात्र बाँकी छँदा ब्राजिललाई ठेगान लगाउन मैदान छिरेका उनले गोलपोष्ट समीप गरेको पासलाई हेड गर्दै भिन्सेन्ट अबुबाकरले क्यामरुनलाई जिताएका थिए ।

यसैबीच, ब्राजिलका प्रमुख प्रशिक्षक टिटेले क्यामरुनसँग ब्राजिलको पराजयको दोष आफूले लिएको बताएका छन् । नौ पटकसम्म खेलाडी परिवर्तन गरेर स्विटजरल्याण्डलाई सोमबार हराएको उनको रणनीतिले क्यारुनसँगको खेलमा साथ दिएन ।

उनले क्यामरुनका खेलाडीको स्तरीय खेलको प्रशंसा पनि गरेका छन् । मौकाको सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको उनले स्वीकार गरेका छन् । शुक्रबारको स्पर्धामा ब्राजिलले २१ र क्यारुनले ९ वटा गोल गर्ने अवसर गुमाएका थिए ।

प्रतिक्रिया