धनगढीमा निषेधाज्ञा तोड्दै विद्यार्थीको प्रदर्शन, प्रहरीद्वारा सात राउन्ड हवाई फायर
अखबार टुडे
प्रकाशित:
२०७९, १६ मंसिर

धनगढी, १६ मंसिर । निषेधाज्ञा तोड्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि धनगढी तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड हवाई फायर गरेको छ ।

धनगढीमा जिल्ला प्रशासन कार्यालयले बिहीबार विद्यार्थी आन्दोलन चकिँदै गएपछि निषेधाज्ञा जारी गरेको थियो । तर, शुक्रबार बिहान निषेधाज्ञाा तोड्दै विद्यार्थी सडकमा उत्रिएका थिए ।

बिहीबार ग्रेडरको ठक्करबाट आफ्ना सहकर्मीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित छन् । बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँद साइकलमा विद्यालय जाँदै गर्दा ग्रेडरको ठक्करबाट मृत्यु भएको थियो ।

घटनाले बृहत रूप लिएपछि बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाबीचमै धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनमा सहभागी केही विद्यार्थीलाई प्रहरीले पक्राउसमेत गरेको छ । उनीहरुले घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन् ।

प्रतिक्रिया