भूमि आयोगद्वारा सुकुम्वासी बस्ती नहटाउन निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७९, १६ मंसिर

काठमाडौं, १६ मंसिर । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासका बस्ती हटाउने तथा असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

आयोगले आज(शुक्रबार) एक सूचना जारी गर्दै लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तह र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई सुकुम्वासी बस्ती नहटाउन निर्देशन दिएको हो ।

सुकुम्वासी तथा भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरणलगायतका कामहरू निर्वाचन आचारसंहिताको कारण स्थगित भएको भए पनि अव तत्काल सुरु गरिने पनि आयोगले जनाएको छ ।

निर्वाचन आयोगले आचारसंहिता लागु नहुने सुचना जारी गरे लगत्तै सुकुम्वासीको लगत संकलनको काम सुचारु हुने र लालपुर्जा वितरण गरिने भएकाले तत्काल भुमीहीन सुकुम्बासीलाई नहटाउन आयोगले निर्दैशन दिएको हो ।

प्रतिक्रिया