कतार विश्वकप- अन्तिम १६ मा पुग्न जर्मनीले जित्नैपर्ने, कुन टिमको अवस्था कस्तो ?
अखबार टुडे
प्रकाशित:
२०७९, १५ मंसिर

काठमाडौं, १५ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज समूह ‘ई’ र समूह ‘एफ’ का निर्णायक खेल हुँदैछन् ।

समूह ‘ई’ को खेल आज राति १२ः४५ बजे हुँदैछ । समूह ‘ई’ मा जापानविरुद्ध स्पेन तथा जर्मनीविरुद्ध कोस्टारिका भिड्दैछन् । समूहमा स्पेन ४ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको जापान र तेस्रो स्थानको कोस्टारिकाको ३–३ अंक छ । पुछारको जर्मनीको १ अंक छ ।

स्पेनले जित वा बराबरी खेले अन्तिम १६ मा पुग्नेछ । जापानसँगको हारले पनि गोलअन्तरमा स्पेन अघि रहन सक्छ । कोस्टारिकाले जर्मनीलाई हराउँदा र आफू जापानसँग पराजित हुँदा भने स्पेन बाहिरिनेछ ।

जापानले स्पेनविरुद्ध जित हासिल गरे अन्तिम १६ मा पुग्नेछ । जबकी कोस्टारिकाविरुद्ध जर्मनीले जितेमा बराबरी भए पनि जापान अन्तिम १६ मा पुग्न सक्छ । स्पेनसँग पराजित भएर वा खेल बराबरीमा टुंगिएमा जपान बाहिरन सक्छ । त्यसको लागि अर्को खेलमा कोस्टारिका विजयी हुनुपर्छ ।

जर्मनीलाई हराउन सके कोस्टारिका अन्तिम १६ मा पुग्न सक्छ । बराबरीले पनि कोस्टारिका अन्तिम १६ मा पुग्न सक्छ । त्यसका लागि भने स्पेनले जापानलाई पराजित गर्नु पर्छ । जापानले जितेमा बराबरी गरेको कोस्टारिका बाहिरिनेछ । दुवै खेल बराबरीमा सकिए कोस्टारिका बाहिरन सक्छ ।

जर्मनीलाई अन्तिम १६ मा पुग्न जितको विकल्प छैन । कोस्टारिकामाथिको जर्मनीको जित र जापानविरुद्ध स्पेनको जितले जर्मनी अन्तिम १६ मा पुग्न सक्छ । जापान र स्पेनबीच बराबरी भएमा पनि जर्मनीको भाग्य खुल्न सक्छ । तर यसका लागि जर्मनीले जापानलाई गोलअन्तरमा पछि पार्नु पर्छ ।

जापानले जितेको अवस्थामा पनि जर्मनीले स्पेनलाई पछि पार्न गोलअन्तर नै चाहिन्छ । यसर्थ जर्मनीलाई अन्तिम १६ मा पुग्न ठूलो अन्तरको जित आवश्यक छ ।

यस्तै, समूह ‘एफ’ को खेल आज राति ८ः४५ बजे हुँदैछ । मोरक्कोविरुद्ध क्यानडा तथा क्रोएसियाविरुद्ध बेल्जियमबीच खेल हुँदैछ । क्रोसिया र मोरक्को ४–४ अंक जोडेर समूहको पहिलो र दोस्रो स्थानमा छ । समूहमा बेल्जियम ३ अंकसहित तेस्रो स्थानमा छ भने पुछारको क्यानडा लगातार दुई खेलमा पराजित हुँदै बाहिरिसकेको छ ।

क्रोएसिया जित वा बराबरी खेले अन्तिम १६ मा पुग्छ । हार बेहोरेको अवस्थामा क्रोसियालाई अन्तिम १६ मा पुग्न क्यानडाले मोरक्कोलाई पराजित गर्नु पर्छ । यस्तो हुँदा गोलअन्तरको आधारमा अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्नेछ ।

मोरक्को जित वा बराबरी खेले प्रिक्वार्टरफाइनलमा पुग्छ । हारेको अवस्थामा मोरक्को अन्तिम १६ मा पुग्न बेल्जिमयले क्रोएसियालाई पराजित गर्न पर्छ । यस्तो अवस्थामा क्रोएसिया वा मोरक्को गोलअन्तरको आधारमा अन्तिम १६ मा पुग्नेछ ।

क्रोएसियालाई हराए मात्र बेल्जियम राउन्ड अफ १६ मा पुग्नेछ । हारले बेल्जियम बाहिरिनेछ । बराबरी खेलेको बेल्जिमलाई अन्तिम १६ मा पुग्न क्यानडाले मोरक्कोलाई हराउन पर्छ। यसो हुँदा गोलअन्तरको आधारमा बेल्जियम समिकरणमा रहनेछ । सुरुवाती दुई खेल गुमाएपछि क्यानडा यसअघि नै बाहिरिएको छ ।

प्रतिक्रिया