पेनाल्टीमा चुकेपछि मेसीले भने- ‘रिस उठ्यो, अब अर्को विश्वकप सुरु भएको छ’
अखबार टुडे
प्रकाशित:
२०७९, १५ मंसिर

काठमाडौं, १५ मंसिर (एजेन्सी)। अर्जेन्टिनाले कतार विश्वकप २०२२ को अन्तिम–१६ मा स्थान पक्का गरेको छ । समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई २–० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा पुगेको हो ।

तर अर्जेन्टिनाले पोल्यान्डसँगको खेलमा पाएको पेनाल्टीमा चुक्दा थप गोल गर्नबाट बञ्चित भए । अर्जेन्टिनाले ३९औँ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टीमा कप्तान लियोनल मेसीको प्रहारलाई पोल्यान्डका गोलपिकर वोइच चेजनीले बचाइदिएका थिए ।

पेनाल्टीमा गोल गर्न चुकेपछि मेसीले आफूलाई रिस उठेको बताएका छन् । मेसीले खेलपछि भने, ‘पेनाल्टीमा चुक्दा रिस उठेको छ । तर मेरो त्यो गल्तीपछि टोली अझ बलियो भयो ।’

कप्तान मेसीले अर्को विश्वकप सुरु भएको पनि बताएका छन् । उनले भने, ‘अष्ट्रेलियाविरुद्धको खेल निकै कठिन हुनेछ । जो कोहीले कसैलाई पनि हराउन सक्छ । हामीले राम्रो खेलको तयारी गर्नुपर्छ । हामी शान्त भएर खेल्नुपर्छ । यससँगै अब अर्को विश्वकप सुरु भएको छ । आशा छ हामीले आज जे गर्यौं त्यसलाई निरन्तरता दिन सक्नेछौं ।’

अर्जेन्टिनाले अब समूह ‘डी’को उपविजेता अष्ट्रेलियाविरुद्ध खेल्नेछ भने पोल्यान्डले समूह ‘डी’को विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा साउदी अरबसँग २–१ ले पराजित भएपछि अर्जेन्टिनाको यात्रा कठिन बनेको थियो । तर, दोस्रो खेलमा मेक्सिकोलाई २–० ले हराउँदै आफ्नो सम्भावना कायमै राखेको थियो ।

जारी विश्वकपमा चेजनीले पेनाल्टी बचाएको यो दोस्रो पटक हो । यसअघि साउदी अरबविरुद्ध पनि चेजनीले सलिम अल दासरीको पेनाल्टी बचाइदिएका थिए । विश्वकपको एकै संस्करणमा दुई पेनाल्टी बचाउ गर्ने चेजनी दोस्रो गोलकिपर बनेका छन् । यसअघि १९६६ मा फ्रान्सका जोल बोटले यस्तो सफलता हासिल गरेका थिए ।

प्रतिक्रिया