कतार विश्वकप : आजदेखि समूह चरणको अन्तिम खेल हुँदै
अखबार टुडे
प्रकाशित:
२०७९, १३ मंसिर

काठमाडौं, १३ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् ।

अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई–दुई खेल हुनेछ । जसअनुसार समूह ए मा रहेको नेदरल्याण्ड्स र कतार तथा इक्वेडर र सेनेगलबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । यस समूहबाट आयोजक कतार बाहिरिसकेको छ भने बाँकी तीन टिममध्ये दुई टिम नकआउट चरणमा पुग्नेछन् । नेदरल्याण्ड र इक्वेडरको समान ४ अंक छ भने सेनेगलको ३ अंक छ ।

यस्तै समूह बी मा रहेको इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ । यस समूहबाट नकआउट चरणमा पुग्न चारै टिमको सम्भावना बाँकी छ र होडमा छन् । यद्यपि तुलनात्मक रुपमा इंग्ल्याण्ड र इरानको सम्भावना बढी छ ।

यस समूहमा इंग्ल्याण्डको ४ अंक छ भने ३ अंक रहको इरान दोस्रो स्थानमा छ । दुई बराबरी खेलेको अमेरिकाको २ अंकसहित तेस्रो र एक बराबरी र एक हारबाट वेल्स १ अंकसहित चौथो स्थानमा छ ।

इंग्ल्याण्डलाई नकआउट चरण पुग्न वेल्ससँग बराबरी गरे पनि पर्याप्त हुनेछ । वेल्सका लागि भने इंग्ल्याण्डलाई हराउनुपर्ने हुन्छ साथै अर्को खेल खेलको नतिजा पनि आफू अनुकल आउनुपर्नेछ ।

यस्तै इरानले अमेरिकालाई पराजित गरे सिधै नकआउट चरणमा पुग्नेछ । इंग्ल्याण्ड र वेल्सको खेल बराबरीमा सकिएमा भने इरानले अमेरिकासँग हार टारे पनि अन्तिम १६ मा पुग्नेछ । अमेरिकाले भने नकआउट चरणमा पुग्न इरानलाई पराजित गर्नैपर्ने हुन्छ ।

खेल हुने समय भने परिवर्तन भएको छ । यसअघि हरेक दिन चार खेल हुँदा चार फरक समयमा हुँदै आएको थियो भने अब दुई फरक समयमा मात्र हुनेछ । पहिलो दुई खेल राति पौने ९ बजे हुनेछ त्यसपछि मध्यराति दुई खेल हुनेछन् ।

प्रतिक्रिया