‘विकल्पबिनाको जबर्जस्ती बन्द गर’ भन्दै सुकुम्बासीको प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०७९, १३ मंसिर

काठमाडौं, १३ मंसिर । थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासीले मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

आफूहरुमाथि जबर्जस्ती गरिएको र बिना विकल्प उठिबास आफूहरलाई मान्य नहुने भन्दै संयुक्त राष्ट्र सुकुम्बासी मोर्चा र नेपाली महिला एकीकृत समाजले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले विभिन्न प्लेकार्डसहितका नारा बोकेर काठमाडौं महानगर र मेयर बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेका छन् ।

थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्तीमा १ सय ३६ छाप्रा रहेका छन् जसमा ५२ जिल्लाबाट आएका मानिसहरू डेढ दुई दशकदेखि बसिरहेका छन् ।

एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण भएको थियो । झडपमा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए ।

प्रतिक्रिया