
काठमाडौं, १३ मंसिर । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९६ लाख ७० हजार ८८३ मतगणना भएको छ ।
मंगलबार बिहान ११.२० बजेसम्मको गणना अनुसार नेकपा एमालेले २६ लाख ७ हजार ४७२ मत प्राप्त गर्दै आफ्नो अग्रता कायमै राखेको छ । यस्तै, नेपाली कांग्रेसले २४ लाख ७० हजार २३४ मत प्राप्त गरेको छ ।
नेकपा माओवादी केन्द्रले ११ लाख ९ हजार ७७९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५४ हजार ७५७, जनता समाजवादी पार्टीले ३ लाख ६७ हजार ७७३ मत प्राप्त गरेको छ ।
यस्तै, सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो संसदीय चुनावबाटै राष्ट्रिय दल बन्ने पक्कापक्की भएको छ । समानुपातिकतर्फ अहिलेसम्म गणना भएको सदर मतको आधारमा जनमत पार्टीले ३ लाख १६ हजार ६५३ अर्थात् ३.२७ प्रतिशत मत पाएको छ ।
समानुपातिकतर्फ राष्ट्रिय दल बन्न सदर मतको तीन प्रतिशत कटाउनु पर्छ । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते भएको संसदीय चुनावमा ६१ प्रतिशत मतदान भएकाले १ करोड ९ लाख मत खसेको देखिन्छ । केही लाख मत बदर हुँदा समानुपातिकतर्फ ३ लाख १५ हजार मत पाउने दल राष्ट्रिय पार्टी बन्न सक्ने देखिन्छ ।
जनमको प्रभाव क्षेत्र रहेको सप्तरीका क्षेत्र नम्बर ३ र ४ को मतगणना अहिलेको तथ्यांकमा समावेश भएको छैन । सप्तरी १ र २ मा जनमत पार्टीले २१÷२१ हजार गरी ४२ हजार मत पाएको छ ।
यस्तै, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई भने मतगणना अन्तिम चरणमा पुग्दा पनि तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्न मुस्किलजस्तो देखिएको छ । उक्त दलले २ लाख ६८ हजार ४७१ मत पएको छ ।
अब मत गणना हुन बाँकी क्षेत्रमा एकीकृत समाजवादीको ठूलो प्रभाव नभएकाले त्यहाँबाट उसलाई उल्लेख्य भोट आउने सम्भावना झिनो छ ।
आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ५६१, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ३८ हजार ६९८, नेपाल मजदूर किसान पार्टीले ७३ हजार २४३, हाम्रो नेपाली पार्टीले ५३ हजार ३६५ , मङ्गोल नेशनल अर्गनाइजेशनले ४६ हजार ९१० र राष्ट्रिय जनमोर्चाले ४५ हजार ३५० मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ। कूल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।
