
काठमाडौं, १२ मंसिर । प्रतिनिधिसभा र प्रदेश सभाको यही मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा एमालेले २५ लाख ३४ हजार ३२३ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २३ लाख ९९ हजार ८३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७१८, नेकपा माओवादी केन्द्रले १० लाख ६२ हजार ७४७ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६५६, जनता समाजवादी पार्टीले ३ लाख २६ हजार ३७२ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।
थ्रेस होल्ड कटाउनका लागि संघर्षरत दलमा नेकपा एकीकृत समाजवादी र जनमत पार्टी छन् । आयोगको विवरणअनुसार जनमत पार्टीले २ लाख ६२ हजार ८२६ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले २ लाख ५२ हजार २७ मत प्राप्त गरेको छ । बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन् ।
आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९६२, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २७ हजार ९१८, नेपाल मजदूर किसान पार्टीले ७२ हजार ८ सय, हाम्रो नेपाली पार्टीले ५२ हजार ८४३ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४५ हजार ६६३, राष्ट्रिय जनमोर्चाले ४४ हजार ८७३, नेपाल सङ्घीय समाजवादी पार्टीले ३१ हजार २२९ र नेकपा मालेले २६ हजार ९७१ मत प्राप्त गरेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले १ हजार ६९४ मत प्राप्त गरेको छ ।
त्यस्तै, आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ । प्रदेश नं १ मा १५ लाख ८४ हजार ८६९ मतगणना भइसकेको छ ।
मधेश प्रदेशमा १६ लाख २५ हजार ७५८, बागमती प्रदेशमा १५ लाख ९८ हजार ४३४, गण्डकी प्रदेशमा ९ लाख १८ हजार ८३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा ५ लाख ७७ हजार ८२९ र सुदूरपश्चिम प्रदेशमा ८ लाख ७ हजार १३८ मत गणना भइसकेको छ ।
