घातक आगलागीपछि चीनभरि चर्किँदै लकडाउनविरूद्ध प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०७९, १२ मंसिर

बेइजिङ, १२ मंसिर (एजेन्सी) । चीनमा सरकारको ‘जिरो कोभिड’ नीतिका विरूद्ध विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ ।

राजधानी बेइजिङ, आर्थिक केन्द्र सांघाई, वुहान, नान्जिङ, चोङक्विङलगायत देशभरिका थुप्रै सहरमा शनिबारदेखि सरकारविरूद्ध प्रदर्शन भइरहेका छन् । विद्यार्थी र सहरबासी प्रदर्शनमा उत्रिएका हुन् । र, उनीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेका छन् ।

सन् २०१९ को अन्त्यमा चीनको वुहान सहरबाट कोरोनाभाइरसको संक्रमण सुरू भएको थियो। त्यसयता चीनले विभिन्न क्षेत्रमा विभिन्न रूपका प्रतिबन्धहरू लगाउँदै आएको छ ।

कोरोनाभाइरस महामारी मत्थर हुँदै गएको र मानिसहरूले खोप लगाइसकेकाले संसारका अरू मुलुकहरूले नागरिकमाथि लगाइएका सबै प्रतिबन्धहरू लगभग हटाए पनि चीनले कोरोनाविरूद्धको शून्य सहनशिलता नीति जारी राखेको छ ।

यसअघि पनि चीन सरकारको उक्त नीतिविरूद्ध फाट्टफुट्ट आवाज उठ्ने गरेका थिए । तर गत बिहीबार चीनको पश्चिममा पर्ने सिन्जियाङ स्वशासित क्षेत्रमा भएको एउटा घटनाले लकडाउनविरूद्धको प्रदर्शनलाई बढाएको हो ।

गत बिहीबार सिन्जियाङको राजधानी उरूम्कीमा एक अपार्टमेन्टमा आगलागी भएको थियो। १५ औं तलामा भएको उक्त आगलागीलाई नियन्त्रण गर्न अग्निनियन्त्रकलाई घन्टौं समय लागेको थियो । आगलागीमा परी अपार्टमेन्टमा रहेका १० जना मानिसको मृत्यु भएको थियो ।

उरूम्कीमा सय दिनदेखि लकडाउन गरेर नागरिकलाई बाहिर निस्कन दिइएको छैन। सोही लकडाउनका कारण उक्त अपार्टमेन्टका मानिसहरू बाहिर निस्कन नसकेको र १० जनाले ज्यान गुमाउनु परेको भन्दै प्रदर्शन सुरू भएको हो ।

सामाजिक सञ्जालहरूमा सरकारको नीतिकै कारण ती मानिसहरूले ज्यान गुमाएको भन्दै व्यापक विरोध भइरहेको छ । अधिकारीहरूले भने उक्त कुरालाई अस्वीकार गर्दै आएका छन्। शनिबार उनीहरूले उरूम्कीका लकडाउन बिस्तारै खुकुलो पारिँदै जाने आश्वासन दिएका छन् ।

आगलागीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिन र लकडाउनको विरोध गर्न सुरूमा उरूम्कीमा मानिसहरू भेला भएका थिए । उनीहरूले लकडाउन विरूद्ध नारा पनि लगाएका थिए ।

प्रतिक्रिया