उत्तर कोरियालाई विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बनाउने नेता किमको दाबी
अखबार टुडे
प्रकाशित:
२०७९, १२ मंसिर

काठमाडौं, १२ मंसिर (एजेन्सी) । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशलाई विश्वकै सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बनाउने बताएका छन् ।

उत्तर कोरियाको सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइलको हालै प्रक्षेपणमा संलग्न दर्जनौं सैन्य अधिकारीहरूलाई पदोन्नति गर्ने क्रममा किमले सो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘उत्तर कोरियाको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली रणनीतिक शक्ति बन्नु हो ।’ उत्तर कोरियाली वैज्ञानिकहरूले बैलिस्टिक मिसाइलहरूमाथि परमाणु लगाउने प्रविधिको विकासमा एक अद्भुत छलाङ मारेको उनले बताए ।

उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने विश्वास गरिएको उत्तर कोरियाली अधिकारीले दाबी गरेका छन् ।

नेता किमले यो क्षेप्यास्त्रको सफलताका लागि एक सयभन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति गरेका अन्तर्रराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

राज्य र नागरिकको गरिमा र सार्वभौमिकताको रक्षाका लागि आणविक शक्तिको निर्माण गर्नु सबैभन्दा ठूलो र सबैभन्दा महत्रत्वपूर्ण प्रगतिको कारण भएको उनको भनाइ छ । उत्तर कोरियाले विश्वसामु विश्वकै सबैभन्दा बलियो सेना निर्माण गर्ने लक्ष्य प्रदर्शन गरेको पनि किमले बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले सन् २००६ यता आणविक तथा क्षेप्यास्त्र गतिविधिका कारण उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने झण्डै एक दर्जन प्रस्ताव पारित गरिसकेको छ । तर उत्तर कोरियाले प्रतिबन्धको बेवास्ता गर्दै आफ्ना आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया