अध्यक्ष नेपालले भने- रौतहट नगएको भए मलाई मात्र होइन, प्रचण्डजी गोरखा नजानुभएको भए उहाँलाई पनि गाह्रो पर्ने रहेछ’
अखबार टुडे
प्रकाशित:
२०७९, ११ मंसिर

काठमाडौं, ११ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट नगएको भए आफूलाई नै सिध्याउने रहेछ भन्दै आशंका व्यक्त गरेका छन् । आफ्नो गृह जिल्ला रौतहट–१ बाट चुनाव जितेर काठमाडौं फर्किएपछि आइतबार नेता कार्यकर्ताको बधाई थाप्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

सुविधानगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताले उनलाई बधाई दिएका थिए । रौतहट–१ बाट अध्यक्ष नेपाल प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले हराउँदै विजयी भएका थिए ।

अध्यक्ष नेपालले भने, ‘रौतहट नगएको भए मलाई नै उछिट्याइदिने रहेछन् । प्रचण्डजी गोरखा नजानुभएको भए उहाँलाई पनि गाह्रो पर्ने रहेछ ।’

२०७४ मा काठमाडौं–२ बाट भारी मतान्तरले निर्वाचित भएका अध्यक्ष नेपाल यसपटक भने चुनाव लड्न रौतहट गएका थिए । स्थानीय तह निर्वाचनमा उनको पार्टीले राम्रो मत पाएकाले नेता नेपालले काठमाडौं छाडेर रौतहट रोजेका थिए ।

प्रतिक्रिया