स्थानीय चुनावमा हारेपछि ताइवानकी राष्ट्रपति साई इङ वेनले दिइन् पार्टी प्रमुखबाट राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७९, ११ मंसिर

काठमाडौं, ११ मंसिर (एजेन्सी) । स्थानीय चुनावमा आफ्नो पार्टी डेमोक्र्याटिक पिपुल्स पार्टी (डीपीपी) ले हार बेहोरेपछि ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबार अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् ।

यी चुनावमा विपक्षी पार्टी कुओमिन्ताङ (केएमटी) ले राम्रो नतिजा ल्याएको छ । केएमटीले राजधानी ताइपेई लगायत धेरै मुख्य शहरहरूमा जित हासिल गरेको बताइएको छ । त्साईको डीपीपीले राजधानी ताइपेइसहित ६ मध्ये ४ वटा नगर प्रमुख पदमा हार बेहोरेको छ ।

चीन र ताइवानबीच बढ्दो तनावलाई मध्यनजर गर्दै राष्ट्रपति साइ इङ वेनले यस चुनावमा ‘लोकतन्त्रका लागि भोट’ भन्ने नारा दिएकी थिइन् । शनिबार नतिजा आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै साईले भनिन्, ‘चुनावको नतिजा हामीले सोचे जस्तो भएन । म यस परिणामको जिम्मेवारी लिन्छु र तत्काल प्रभावबाट डीपीपीको अध्यक्ष पदबाट राजीनामा दिन्छु ।’

त्साई स्वशासित ताइवान टापुको राष्ट्रपतिको रूपमा रहिरहने गरी पार्टीको नेतृत्वबाट राजीनामा दिएकी हुन् । स्थानीय परिषद् र शहरको मेयरको चुनावको केन्द्र घरेलु मुद्दा थिए जसमा अपराध, आवास र सामाजिक कल्याणजस्ता मुद्दालाई केन्द्रमा राखिएको थियो ।

यी निर्वाचनहरू कुनै पनि हिसाबले चीन वा परराष्ट्र नीतिसँग प्रत्यक्ष सरोकार नभए पनि देशको लोकतन्त्रका बारेमा सोचेर मतदान गर्न जनतालाई अपिल गरिएको थियो ।

ताइवानको हक्का समुदायबाट निर्वाचित वेन ताइवानको पहिलो महिला राष्ट्रपति हुन् । मतदान परिणामलाई चीनको बढ्दो आक्रामकताको अवज्ञा गर्ने राष्ट्रपति साई इङ–वेनको प्रयासको विफलताका रूपमा हेरिएको छ ।

प्रतिक्रिया