प्रतिनिधिसभामा कर्णालीबाट एमाले शून्य, अन्य कुन दलले कति सिट जिते ?
अखबार टुडे
प्रकाशित:
२०७९, ११ मंसिर

काठमाडौैं, ११ मंसिर । कर्णाली प्रदेशमा नेकपा एमाले शून्य भएको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेशका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा एमाले पराजित भएको हो ।

विसं २०७४ को निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा एमालेले जित हासिल गरेको एमाले यसपटक प्रतिनिधिसभातर्फ एमाले शून्य भयो ।

अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले समान चार–चार सिट जितेका छन् भने नेकपा एकीकृत समाजवादीले तीन सिट जितेको छ । राप्रपाले एउटा सिटमा जित हात पार्दा एमाले शून्यमा झरेको हो ।

प्रत्यक्ष र समानुपातिक गरी कर्णाली प्रदेशसभा ४० सदस्यीय बन्ने छ । निर्वाचनको नतिजा अनुसार प्रदेशमा बहुमतको सरकार बनाउन २१ सदस्य आवश्यक पर्छ ।

प्रदेशका २४ निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र रहेका दल माओवादी केन्द्र र कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेका छन् भने एमालेले प्रदेशतर्फ पाँच सिटमा जित हात पार्दा एक जना स्वतन्त्र सदस्यमा प्रवेश गर्दै छन् । पार्टीगतरूपमा हेर्दा कांग्रेसले नौ र माओवादी केन्द्रले पनि नौ सिटमा जितेको छ ।

प्रत्यक्षमा सबै नतिजा आउँदा अहिलेको कांग्रेस–माओवादी गठबन्धनले सरकार बनाउने देखिन्छ । कांग्रेस–माओवादीको गठबन्धन रहेको खण्डमा समानुपातिकसहितको मत जोड्दा कर्णालीमा दुईतिहाइको सरकार बन्ने देखिन्छ ।

सत्ता समीकरण बदलिएको खण्डमा तीनवटै पार्टीले आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि पहिलो प्रयास गर्नेछन् । समीकरण फेरिएको खण्डमा प्रदेश सरकार गठनका लागि एमाले निर्णायक ‘पोजिसन’मा हुने छ ।

प्रतिक्रिया