
काठमाडौं, ९ मंसिर । एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ ६ वटा निर्वाचन क्षेत्र छन् । तर सबै निर्वाचन क्षेत्रमा एमाले हार्न पुगेको छ ।
योसँगै दाङमा एमालेको गढ भत्किएको छ । प्रभावशाली नेता र भविष्यको प्रधानमन्त्रीका सम्भावित आकांक्षीमध्ये एक ठानिएका स्वयं महासचिव पोखरेल नै दाङ–२ बाट गठबन्धनकी उम्मेदवार रेखा शर्मासँग १९६ मतअन्तरले पराजित भए । शंकरले २६ हजार ६८१ मत ल्याए भने रेखाले भने २६ हजार ८७७ मत ल्याइन् ।
महासचिवको हारसँगै पहिलो शक्ति बन्ने दाबी गर्दै आएको एमालेभित्र सन्नाटा छाएको छ । दाङका सबै क्षेत्रमा जित निकाल्ने एमालेको दाबी थियो । तर प्रतिनिधिसभा र प्रदेशसभा गरी ९ वटा निर्वाचन क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भए ।
दाङ–१ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका शान्ता चौधरीलाई ५ हजार ८४ मत अन्तरले हराउँदै नेकपा एकिकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् । मेटमणिले २६ हजार ५६३ मत ल्याउँदा शान्ताले २१ हजार ४७९ मत पाइन् ।
दाङ–३ मा पनि नेकपा एमालेकी कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी भए । उनले वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरे । गिरीले ३६ हजार ८४२ मत पाए भने ओलीले २९ हजार ३२ मत पाए ।
यस्तै, प्रदेशसभातर्फ पनि गठबन्धनका सबै उम्मेदवार विजयी भए । दाङ–१ कै प्रदेश ‘क’ मा एमालेका गंगाराम भट्टराईलाई हराउँदै माओवादीका इन्द्रजित थारु विजयी भएका छन् । प्रदेशसभा ‘ख’ मा पनि गठबन्धनका कुलबहादुर केसीलाई हराउँदै कांग्रेसका अनुराग खड्का विजयी भएका छन् ।
दाङ– २ का प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धन विजयी भएको छ । प्रदेश ‘क’ नेकपा एमालेका बलीभद्र रानालाई हराउँदै कांग्रेस राजु खनाल विजयी भए । प्रदेश ‘ख’ पनि एमालेका गिरिराज केसीलाई पराजित गर्दै कांग्रेसका प्रचण्डविक्रम न्यौपाने गुन्टु विजयी भए ।
दाङ–३ ‘१’ र ‘२’ मा पनि गठबन्धनले एमालेका उम्मेदवारलाई हराए । प्रदेशसभा ‘क’ मा एमालेका घनश्याम पाण्डेलाई हराउँदै कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी भए भने प्रदेश ‘२’ एमालेका हुकुम बस्नेतलाई हराउँदै धनबहादुर ‘मास्की’ विजयी भए । यसले दाङमा एमाले पत्तासाफ हुने देखाउँछ ।
