
काठमाडौं, ९ मंसिर । प्रतिनिधिसभाको तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म नतिजा आएका ११८ क्षेत्रमध्ये ५ ठाउँमा स्वतन्त्र उम्मेदवारहरू विजयी भएका छन् ।
१. प्रभु साह, रौतहट-३
रौतहट निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार प्रभु साह विजयी भएका छन् । साहले निकटतम् प्रतिस्पर्धी अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पराजित गरे । उनको यो लगातार चौथो जित हो । २०६४ सालदेखि साहले यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका छन् ।
स्वतन्त्र उमेदवार साह ३२ हजार ४३७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र ओमप्रकाशले २५ हजार २०० मत पाए । माओवादी केन्द्रका रविन्द्र पटेलले ८ हजार ५५८ मत पाएका थिए ।
२. अमरेशकुमार सिंह, सर्लाही-४
सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट कांग्रेसका बागी उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका छन् । सिंहले २० हजार १७ मत ल्याउँदै विजयी भएकाहुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७६५ मतान्तरले पराजित गरे । पराजित नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएका छन् । यस्तै, स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरिन् ।
३. योगेन्द्र मण्डल, मोरङ-५
मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) विजयी भएका छन् । मण्डलले २१ हजार ८ सय २० मत ल्याउदा सत्ता गठबन्धनवाट माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत र एमाले, जसपा गठबन्धनमा जसपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत पाएका छन् ।
योगेन्द्रलाई एमालेले उक्त क्षेत्रबाट सर्वसम्मतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने तयारी गरेको थियो । तर उम्मेदवार मनोनयनको अघिल्लो दिन एमाले र जसपाबीच चुनावी गठबन्धन हुँदा यो क्षेत्र एमालेले जसपालाई सुम्पेपछि मण्डलले एमाले त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । यो क्षेत्रमा कांग्रेस र एमालेको आ–आफनो उम्मेदवार नहुँदा आक्रोशित दुई दलका कार्यकर्ताले मण्डललाई समर्थन गर्दा उनको जित निश्चित भएको हो ।
४. किरणकुमार साह, रौतहट- २
रौतहटको क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन् । उनले नेपाली कांग्रेसका फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका विजयी भएका हुन् । साहले ३२ हजार ८४२ मत ल्याएका छन् । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आलमले २८ हजार २४८ मत पाए ।
मुस्लिम बाहुल्य क्षेत्रमा साह पहिलो पटक विजयी भएका हुन् । लामो समय माओवादीमा राजनीति गरेका साह मधेसवादी दल हुँदै केही समय अघि एमाले प्रवेश गरेका थिए । पार्टीले टिकट नदिएको र उनको क्षेत्र जसपाको भागमा परेपछि साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए ।
५. लालवीर चौधरी, बर्दिया-२
बर्दिया क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्म्दवार लालवीर चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीका नेता उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतले पराजित गरेका हुन् । लालवीरले २६ हजार ५२० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पन्थले २६ हजार ३८४ मत पाएका छन् ।