
काठमाडौं, ८ मंसिर । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउने प्रयास गरेका छन् । ओलीले फोन गर्दै ‘प्रचण्ड’लाई मिलेर अघि बढ्न आग्रह गरेको समाचार छ । सार्वजनिक समाचारअनुसार ओलीले बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले भनेछन्, ‘सम्भव भए मिलेर अगाडि बढौं ।’
विस्वस्त समाचार स्रोतका अनुसार ओलीले आफ्ना कमजोरीसमेत औल्याएका छन् । ‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ’ स्रोतले ओलीको भनाई उदृत गर्दै भने, ‘अब बसेर कुरा गरौं । हामीलाई टाढा पार्ने शक्तिहरु अहिले सक्रिय नै छन् ।’
अध्यक्ष प्रचण्डले अरु कसैले टाढा पारेको नभई ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको टिप्पणी गर्दै आएका छन् । बसेर कुरा गर्न समस्या नभएको भन्दै अगाडिको बाटोबारेचाहिँ समीक्षा गर्नुपर्ने प्रचण्डको भनाइ छ ।
प्रचण्डको सचिवालयले जनाएअनुसार प्रचण्डले ओलीसँग भनेछन्, ‘हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ पहिले हेरौं न परिस्थिति कसरी अघि बढ्छ ।’
ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले प्रचण्डसँग फोनमा कुरा भएको पुष्टि गरेका छन् । उनका अनुसार उनीहरुबीच बधाई साटासाट गर्नेक्रममा कुराकानी भएको हो । यस्तै, अध्यक्ष ओलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुधबार साँझ फोन गरेर बधाई दिएका थिए ।
बिहीबार ओलीले झापा पुगेर देशमा नयाँ राजनीतिक शक्तिको उदय भनेर प्रोपागान्डा मच्चाइएको भन्दै असन्तुष्टि जनाएका थिए । अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दुई पार्टीका अध्यक्षबीच सौहार्दपूर्ण टेलिफोन वार्ता भएको पुष्टि गरेका छन् ।
उनका अनुसार ओलीले फोन गरेर प्रचण्डसँग ‘मिलेर केही गरौं’ प्रस्ताव गरेपनि प्रचण्डले यसबारे कुनै निर्णय गरेका छैनन् ।
त्यसो त आजै (बिहीबार) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि अब वाम एकता हुने संकेत गरेका छन् । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएपछि प्रतिक्रिया दिनेक्रममा उनले भने, ‘अब वाम एकता पनि हुन सक्छ ।’
यो निर्वाचनमा सत्ता गठबन्धन (वाम लोकतान्त्रिक गठबन्धन) चुनावी मैदानमा उत्रिएको थियो । तर, चुनावी परिणाम आउनेक्रममा वाम पार्टी असन्तुष्ट बनेको छ । सिधै भन्नुपर्दा यो चुनावमा कांग्रेसले धोका दिएको एकीकृत समाजवादी र माओवादीको आशंका छ ।
अहिलेसम्म सार्वजनिक भएका परिणामले पनि त्यस्तै आशंका उब्जाएको छ । तर, एकीकृत सुमाजवादीका अध्यक्ष माधव नेपाल र ओलीले प्रचण्डलाई प्रस्ताव गरेअनुसार वाम गठबन्धन तत्काल हुने सम्भावना नरहेको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
