
दाङ, ७ मंसिर । प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द«ले दोस्रो जित निकालेको छ । लुम्बिनी प्रदेशको एकमात्रै हिमाली जिल्ला रूकुम पूर्वको प्रतिनिधिसभा सदस्यमा माओवादीका पूर्णबहादुर घर्ती निर्वाचित भएका हुन् ।
लुम्बिनी प्रदेशका सभामुखसमेत रहेका घर्ती १२ हजार ६६२ मत प्राप्त विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्ल ५ हजार २११ मत प्राप्त गरे । घर्तीको संघीय संसदमा भने यो पहिलो प्रवेश हो ।
त्यस्तै, रूकुम पूर्व प्रदेशसभा (२) मा कांग्रेसका धनबहादुर केसी निर्वाचित भएका छन् । ४ हजार ८६२ मत प्राप्त गरि केसी निर्वाचित भएका हुन् । स्वतन्त्र उम्मेदवार नरहरि खड्काले दुई हजार २४४ मत प्राप्त गरेका थिए । केसी दुई हजार ६ सय १८ मतान्तरले विजयी भएका हुन् ।
यहाँ नेकपा एमालेका भावना बिसीले १ हजार ८६३, स्वतन्त्र उम्मेदवार केशव रावलले ८४०, राप्रपाका केशवचन्द्र समालले २६६ मत प्राप्त गरेका थिए ।
निर्वाचित केसी पहिलो पटक निर्वाचनमा भिडेका थिए । प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार सुरुल पुन मंगलबार नै निर्वाचित भइसकेका छन् ।