
काठमाडौं, ६ मंसिर । नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ११ हजार ९५६ मत ल्याएर श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे भने सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मतसहित तेस्रो स्थानमा रहे ।
योसँगै एमालेले प्रतिनिधिसभामा जितको संख्या २ पुगेको छ । यसअघि एमालेका प्रेम बहादुर महर्जन ललितपुर–२ बाट निर्वाचित भएका छन् ।
आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा उनले चौथो जित निकालेका हुन् । उनी २०४९, २०५१ र २०७४ सालका आम निर्वाचनमा विजयी बने ।
२०७४ को संसदीय चुनावमा श्रेष्ठले काठमाडौं–९ मा नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मतले पराजित गरेका थिए । श्रेष्ठले २२ हजार ८५२ र रञ्जितले १४ हजार ८०२ मत पाएका थिए ।