प्रधानमन्त्रीको अफर आए पछि हट्दिनँ : प्रकाशमान सिंह
अखबार टुडे
प्रकाशित:
२०७९, ६ मंसिर

काठमाडौं, ६ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा विजयी बनेका कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीका लागि प्रस्ताव आए पछि नहट्ने बताएका छन् ।

मंगलबार नेता, कार्यकर्ताहरुसँगको शुभकामना आदानप्रदानका क्रममा उनले आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य भएको बताए ।

उनले भने, ‘परिस्थिति फरक भइरहेको छ । म प्रधानमन्त्रीको म योग्य छु, अवसर पाएमा च्यालेन्ज मिट गर्नको लागि अफर आयो भने पछि हट्ने कुरा आउँदैन ।’

उनले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताए । आम मतदाताहरुका लागि जनप्रतिनिधिहरुसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनसो सुन्ने काममा आफू निरन्तर लाग्ने बताए ।

उनले खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा छिटो ल्याउनका लागि काम गर्ने बताए । उनले काठमाडौंका नदीहरु वागमती, विष्णुमती,रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाइ सफा बनाउने र प्रदूषण नियन्त्रणका लागि काम गर्ने बताए ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेस नेता सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पछि पार्दै विजयी भएका छन् । नेता सिंहले ७ हजार १४३ मत ल्याउँदा प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत मात्रै ल्याउन सफल भए ।

प्रतिक्रिया