कतार विश्वकप-२०२२ : इरानविरुद्ध इंग्ल्याण्डको शानदार जित
अखबार टुडे
प्रकाशित:
२०७९, ५ मंसिर

काठमाडौं, ५ मंसिर । कतारमा जारी विश्वकप–२०२२ को पहिलो खेलमा इंग्ल्याण्डले इरानलाई ६–२ ले पराजित गरेको छ ।
सोमबार खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा बुकाया साकाको दुई गोल मद्दतमा इंग्ल्याण्डले पहिलो खेलमा शानदार जितसहित समूह बी मा ३ अंक जोडेको छ ।

इंग्ल्याण्डलाई जिताउन साकाले ६३औं र ६२औं मिनेटमा गोल गरे । त्यसअघि जुड बेलिङघहमले ३५औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी टाइममा रहिम स्टरलिङले गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्कुस रासफोर्ड र ज्याक ग्रेलिसले दोस्रो हाफमा गोल थपे । रासफोर्डले ७१औं र ग्रेलिसले ९०औं मिनेटमा गोल गरे ।

कप्तान ह्यारी केनले दुई गोलका लागि सहयोग गरे । सन् २००६ को विश्वकपमा डेविड बेकहमले ट्रिडिनाड एण्ड टोबागो विरुद्ध दुई गोलको लागि असिस्ट गरेका थिए ।

इरानका लागि मेहदी तारेमीले दुई गोल गरे । तारेमीले ६५औं मिनेटमा पहिलो गोल गरेका थिए भने खेलको इन्जुरी टाइममा प्राप्त पेनाल्टीमा दोस्रो गोल गरे ।

खेलको १० मिनेटमै इरानका गोलकिपर एलिरेजा बेइरानभान्ड आफ्नै खेलाडीसँग ठोक्किएपछि घाइते हुँदै मैदान बाहिरिएका थिए ।

पहिलो खेलमै शानदार जितपछि इंग्ल्याण्डले कतार विश्वकपको लागि आफ्नो दाबेदारी समेत पेश गरेको छ । इंग्ल्याण्डले दोस्रो खेल अमेरिका र तेस्रो खेल वेल्ससँग खेल्नेछ ।

प्रतिक्रिया