
काठमाडौं, ५ मंसिर । नेकपा एमालेले देशका तीन जिल्लाका विभिन्न क्षेत्रमा धाँधली भएको भन्दै पुनः मतदान गर्न माग गरेको छ ।
गोरखामा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवारले धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचन गर्न माग गरेका छन् ।
गोरखा २ का ८ वटा मतदान केन्द्र र गोरखा १ का ४ केन्द्रमा धाँधली भएको उनीहरुको आरोप छ । सत्ता र शक्तिको आडमा अनुपस्थित र मृतकको नाममा समेत मत हालेको उनीहरूले आरोप छ । एमालेको विरोधपछि गोरखा २ मा मतगणना सुरू हुन सकेको छैन ।
यस्तै, एमालेले स्याङ्जा क्षेत्र नम्बर २ मा पनि पुनः मतदानको माग गरेको छ । एमाले सचिव एवं स्याङ्जा–२ उम्मेदवार पद्मा अर्यालले सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले बुथ कब्जा गरेको आरोप लगाएकी छन् ।
स्याङ्जाका ४ वटा बुथमा कांग्रेसले कब्जा गरेको उनको आरोप छ । उनले निष्पक्ष चुनाव हुन नसकेको बताइन् । यहाँ नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरूङ उम्मेदवार छन् । यस्तै, एमाले रूकुम पश्चिमले ७ वटा मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरेको छ ।
नेकपा माओवादीले फर्जी मत हालेको आरोप लगाउँदै एमालेले ती मतदान केन्द्रमा पुनः मतदानको माग गरेको हो । यहाँ माओवादीबाट जनार्दन शर्मा उम्मेदवार छन् ।
यस्तै, रूकुम पश्चिममा पनि मतगणना सुरू हुन सकेको छैन । मतपेटिक संकलन कार्य भइरहेको छ भने यहाँ पनि एमालेले पुन मतदानको माग गरेको छ । सोमबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै धाँधली भएका केन्द्रमा पुनः मतदान गर्न एमालेले माग गरेको हो ।
