
काठमाडौं, ५ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमध्ये सोमबार प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्रका ३० वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी)को विवरणअनुसार अहिले ३० वटा निर्वाचन क्षेत्रमा गणना भइरहेको हो ।
तीमध्ये भक्तपुर २ मा मतगणना केहीबेर स्थगित भएको थियो । सदर र बदर मतबारे विवाद हुँदा मतगणना स्थगित भएपनि सर्वदलीय समझदारी पछि गणना सुरू गरिएको जेईओसीले जानकारी दिएको छ ।
यस्तै, इलाममा पनि प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि मतगणना हुन सकेको थिएन । अहिले मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकमा प्रदेश सभाको बाकसमा खसेका करिब १ सय मतपत्र प्रदेशतर्फ गणना हुने सहमति भएको छ । बाँकी रहेका क्षेत्रमा पनि आजै मतगणना गर्ने तयारी भइरहेको छ ।
