आमनिर्वाचन-२०७९ : ११ हजार ५४३ उम्मेदवार चुनावी मैदानमा, आइतबार बिहान ७ बजेदेखि मतदान
अखबार टुडे
प्रकाशित:
२०७९, ३ मंसिर

काठमाडौ, ३ मंसिर । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । शनिबार आयोगले पत्रकार सम्मेलन गरी निर्वाचनको तयारी पूरा भएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन लागि तयारी पूरा भएको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनले सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न समेत आह्वान गरेका छन् ।
उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान हुने भएकाले यस ऐतिहासिक अवसरमा भाग लिई आफ्नो मताधिकारको प्रयोग गर्न निर्वाचन आयोग सबै मतदाताहरूलाई हार्दिक आह्वान गर्दछु ।’

मतदानको दिन सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनलगायतका सवारीसाधनलाई अनुमति लिनुनपर्ने आयोगले व्यवस्था गरेको छ ।

८२५ पदका लागि ११ हजार ५४३ उम्मेदवार चुनावी मैदानमा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि ११ हजार पाँच सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार एक सय ८९ पुरुष र दुई सय २५ महिला गरी कूल दुई हजार चार सय १२ तथा समानुपातिकतर्फ एक हजार १२ पुरुष र एक हजार एक सय ८७ महिला गरी कूल दुई हजार एक सय ९९ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेश सभाको प्रत्यक्षतर्फ दुई हजार नौ सय ४३ पुरुष, दुई सय ८० महिला र एक अन्य गरी कूल तीन हजार दुई सय २४ तथा समानुपातिकतर्फ दुई हजार एक सय ९७ पुरुष र एक हजार पाँच सय ११ महिला गरी कूल तीन हजार ७ सय आठ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

देशभर १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा ९१ लाख ४० हजार आठ सय ६ पुरुष, ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र एक सय ८५ अन्य गरी कूल एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन् ।

आयोगले मतदाता सूचीमा नाम समावेश भएका यही मंसिर ३ गतेसम्म १८ वर्ष पूरा हुने बालिग मतदाताले मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

निर्वाचन बहिस्कारको माग गर्दै प्रदर्शन गर्ने ६ जना पक्राउ

यसबैबीच शनिबार नेकपा (क्रान्तिकारी माओवादी) निकट नेता कार्यकर्ताले निर्वाचन बहिस्कारको माग गर्दै निर्वाचन आयोग अगाडि प्रदर्शनमा उत्रिएका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले ‘निर्वाचन बहिष्कार गरौँ’ भन्दै नाराबाजी गरेका थिए ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार सोक्रममा ६ जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई प्रहरी परिसर कार्यालय दरबारमार्गमा राखिएको छ ।

आइतबार हुने आम निर्वाचन नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टीलयागतले बहिस्कार गर्दै आएका छन् ।

प्रतिक्रिया