नेपालले जित्यो युएईविरूद्धको एकदिवसीय शृङ्खला
अखबार टुडे
प्रकाशित:
२०७९, २ मंसिर

काठमाडौं, २ मंसिर । नेपालले युएईसँगको एक दिवसीय शृङ्खला जितेको छ । शुक्रवार तेस्रो तथा निर्णयक खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला २–१ ले जितेको हो ।

कीर्तिपुर खेल मैदानमा यूएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन बनाए । ओपनर अर्जुन साउद ९ रनमा आउट भए। कप्तान रोहितकुमार पौडेल १० रन र दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए । दुवै जना रनआउट भए ।

बलिङतर्फ यूएईका हजरत बिलाल र आयान अफजल खानले एक/एक विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७६ रन बनायो । यूएईका लागि आयान अफजल खानले नटआउट ५४ रन र अलिशान शराफुले ३३ रन बनाए ।

बलिङतर्फ नेपालका गुल्सन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २–२ विकेट लिए । ललित राजवंशी र सोमपाल कामीले १–१ विकेट लिए ।

नेपाल पहिलो खेलमा ८४ रनमा पराजित हुँदा दोस्रो खेलमा पुनरागमन गर्दै नेपालले यूएईलाई तीन विकेटले हराएको थियो । यो जितसँगै नेपालले शृङ्खला दुई–एकले आफ्नो पक्षमा पारेको हो ।

प्रतिक्रिया