अञ्जनको त्यो गोल, जसले ५०औँ खेलमा नेपालसँग पाकिस्तान पराजित
अखबार टुडे
प्रकाशित:
२०७९, ३० कार्तिक

काठमाडौं । नेपाल र पाकिस्तानबीच भएको मैत्रीपूर्ण खेलमा नेपालले जित हासिल गरेको छ । अञ्जन विष्टको एकमात्र गोलदे नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको हो ।

दशरथ रंगशालामा बुधबार भएको ५०औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १-० को जितको नतिजा निकालेको हो । नेपाललाई घरेलु मैदानमा जिताउन अञ्जन विष्टले खेलको ८३ औं मिनेटमा गोल गरेका थिए ।

सुनिल बलको पासमा अञ्जनले गोल गरेका हुन् । अञ्जनले गत असोजमा दशरथ रंगशालामै भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए । पछिल्लो समय नेपालका गोल स्कोररको रुपमा देखा पर्दै आएका अञ्जनले पाकिस्तानविरुद्ध गरेको गोल नेपालका लागि ११ औं गोल हो ।

अञ्जन नेपालका लागि १३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गर्नबाट दुई गोलले मात्र टाढा छन् ।
नेपाली समर्थकले खचाखच भरिएको रंगशलामा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ बनाउन सकेनन् ।

३८ औं मिनेटमा नेपालका तेज तामाङले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । उनको प्रहार पाकिस्तानी डिफेण्डरले क्लियर गरे ।

यसअघि असोजमा भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा टिममै नपरेका पुजन उपरकोटी र आयुष घलानले पाकिस्तान विरुद्ध पहिलो रोजाईँमा खेले ।
किरणकुमार लिम्बु आई लिग खेल्न भारतमा रहेकोले दीप कार्कीले नेपालको पोष्ट सम्हालेका थिए । दीपले गत जेठमा कुवेतमा भएको एएफसी कप छनोटमा डेब्यु गरेका थिए ।

यसै खेलबाट रोहित चन्दले नेपालका लागि पहिलो पटक कप्तानी गरे । यस्तै मछिन्द्र क्लबलाई लगातार दुई पटक ए डिभिजन लिग जिताएका प्रवेश कटुवालले पनि राष्ट्रिय टिममा प्रशिक्षकको रुपमा डेब्यु गरे ।
पाकिस्तानले फिफाको निलम्बनका फुकूवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो ।

फुटबलर आवास लामिछानेले यो खेलबाटै राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् । दशरथ रंगशालामा भएको पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा सेसेहाङ आङदम्बेको स्थानमा मैदान प्रवेश गर्दै उनले नेपालका लागि डेब्यु गरेका हुन् । उनी यही मैत्रीपूर्ण खेलका लागि पहिलो पटक राष्ट्रिय टिममा परेका थिए ।

गत सिजन ए डिभिजन लिगमा राम्रो प्रदर्शन गरेको र क्षमता भएको खेलाडी भएकाले आवासलाई टिममा राखेको प्रशिक्षक प्रवेश कटुवालले बताएका थिए । आवासले एपीएफ क्लबबाट ए डिभिजन लिग खेलेका थिए ।

प्रतिक्रिया