पोल्यान्डमा क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु, नेटेको आकस्मिक बैठक
अखबार टुडे
प्रकाशित:
२०७९, ३० कार्तिक

काठमाडौ, ३० कात्तिक । युक्रेनको सीमा नजिकै पोल्यान्डमा क्षेप्यास्त्र खस्दा दुई जना ज्यान गएको छ । उक्त घटनामा रुसी क्षेप्यास्त्र प्रहार भएको अन्तराष्ट्रीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि आधिकारिक रूपमा त्यो पुष्टि भएको छैन ।

रुसको रक्षा मन्त्रालयले उक्त दाबीको खण्डन गर्दै त्यो ‘उत्तेजना बढाउन जानाजान गरिएको कार्य’ भएको बताएको छ । घटनाको जिम्मेवारी लिन रूसले अस्वीकार गरेको छ ।

घटनापश्चात् पोल्यान्डको राष्ट्रिय सुरक्षा ब्युरोको आकस्मिक बैठक बसेको थियो । पोल्यान्डका राष्ट्रपति आन्जे डुडाले भने, ‘कसले क्षेप्यास्त्र प्रहार ग¥यो भन्नेबारे हामीसँग ठोस प्रमाण छैन । तर उक्त क्षेप्यास्त्र रुस निर्मित हो भन्ने सम्भावना अधिक छ । यद्यपि, यो घटना अझै अनुसन्धानको विषय हो ।’

बीबीसीका अनुसार जी २० शिखर सम्मेलनमा सहभागी हुन बाली पुगेका नेटो सदस्य राष्ट्रहरूका प्रमुख घटनापछि आकस्मिक बैठक जुट्दैछन् । नेटो सम्बद्ध राष्ट्रले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । आफ्नो सदस्य राष्ट्र पोल्याण्डमा क्षेप्यास्त्र खसेको विषयमा गम्भीर ध्यानाकर्षण भएको नेटोको भनाइ छ ।

युक्रेनले पोल्यान्डमा खसेको क्षेप्यास्त्र आफ्नो भएको सम्पूर्ण आरोपहरूको खण्डन गर्दै त्यसलाई षडयन्त्र सिद्धान्तको सङ्ज्ञा दिएको छ । साथै यस्ता आरोपहरू रुसी प्रोपगान्डाको अंश भएको समेत जनाएको छ ।

रुसले मंगलबार मात्रै युक्रेनविरुद्ध आफूसँग भएको सबैभन्दा ठूलोमध्ये एक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । उक्त प्रहारका कारण सबैभन्दा प्रभावितमध्ये एक राजधानी किएभ थियो । अधिकारीहरूका अनुसार त्यहाँ कम्तीमा एक जना मानिस मृत भेटिएका थिए ।

प्रतिक्रिया