सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्ने ट्रम्पको घोषणा
अखबार टुडे
प्रकाशित:
२०७९, ३० कार्तिक

काठमाडौं, ३० कात्तिक (एजेन्सी) । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ राष्ट्रपतीय चुनाव लड्ने घोषणा गरेका छन् ।

ट्रम्पले मंगलबार राति फ्लोरिडास्थित मार–ए– लागोमा एक घण्टा लामो भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै आगामी राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

ट्रम्पले उम्मेदवारी दिने घोषणा गर्दै भनेका छन्, ‘अमेरिकालाई पुनः महान र गौरवशाली बनाउन मैले राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेको छु ।’ आफूले अमेरिकी नागरिकहरूबाट अपार माया पाएको उल्लेख गर्दै उनले भने, ‘हामीले अमेरिकालाई तहसनहस पार्न खोज्ने कट्टरपन्थी डेमोक्रेटिक’ लाई हराउनेछौँ ।’

राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारीका लागि आवश्यक कागजात उनले संघीय निर्वाचन समितिलाई मंगलबार नै बुझाएका छन् ।

हालै सम्पन्न मध्यकालीन निर्वाचनमा रिपब्लिकनले उत्साही परिणाम ल्याउन नसकेको र आफूनिकट उम्मेदवार पराजित भएको अवस्थामा ट्रम्पले उम्मेदवारीको घोषणा गरेका हुन् । रिपब्लिकनले सिनेटमा बहुमत ल्याउन सकेन भने प्रतिनिधिसभामा सामान्य बहुमतको स्थितिमा छ ।

उम्मेदवारी घोषणा गर्दै ट्रम्पले २०२२ को मध्यकालीन निर्वाचनको परिणामप्रति पनि असन्तुष्टि जनाएका छन् । उनले भने, ‘मतदाताहरूले अझै पनि राष्ट्रको पीडालाई बुझ्न सकेनन् । उनीहरूले २०२४ मा आफ्नो मत परिवर्तन गर्नेछन् । ’

ट्रम्पले रुसले नेटोलाई आक्रमण गरिरहँदा राष्ट्रपति बाइडेन निदाइरहेको समेत आरोप लगाएका छन् । ट्रम्पले बाइडेनले युक्रेन द्वन्द्वलाई सम्बोधन गर्न नसकेको आरोप लगाउँदैृ अमेरिकालाई आणविक युद्धमा तानेको बताएका छन् ।

प्रतिक्रिया