कतार विश्वकप : विजेतालाई साढे ५ अर्ब, अरुले कति पाउँछन् पुरस्कार ?
अखबार टुडे
प्रकाशित:
२०७९, २९ कार्तिक

काठमाडौं, २७ कात्तिक (एजेन्सी) । नोभेम्बर २० देखि कतारमा सुरु हुने विश्वकपको माहोल विश्वभर बन्दैछ । विश्वको उत्कृष्ट ३२ टिमहरुले कतारमा हुने फिफा विश्वकप फुटबलको अन्तिम तयारीमा जुटेका छन् ।

एक महिनासम्म चल्ने विश्वकपको उपाधि कसले जित्ला भन्ने धेरैको चासो छ । विश्वकपमा आयोजकको हैसियतमा डेब्यू गर्न लागेको कतार र छनोट भएर आएका ३१ राष्ट्रहरु विश्वकप ट्रफी जित्न नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म प्रतिस्पर्धामा उत्रनेछन् ।

अन्तिममा ३२ मध्ये एक टिम मात्र विजेता हुनेछ । विश्वकप विजेताले फिफा विश्वकप ट्रफी पाउनेछन् । जसको मूल्य २० मिलयन अमेरिकन डलर बराबरको भएको बताइएको छ । १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६.८ सेन्टिमिटर अग्लो छ भने ६.१ किलोग्राम तौलको छ । यद्यपी विश्वकप जसले जिते पनि सक्कली ट्रफी लैजान भने पाउँदैनन् ।

विश्वकप विजेताले उपाधिसँगै ठूलो मात्रामा नगद रकम पाउनेछन् । हरेक संस्करणमा विजेताले पाउने रकममा वृद्धि हुँदै आइरहेको छ । कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर (नेपाली करिव ५ अर्ब ४४ करोड २३ लाख ६० हजार) पाउनछन् । जुन चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो भने २०१४ को ब्राजिल विश्वकप भन्दा ७ मिलियनले बढी हो ।

यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात नेपाली रकम ३ अर्ब ८८ करोड ७४ लाख पाउनेछन् । तेस्रो हुने टिमले २७ मिलियन अर्थात ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार र चौथो हुने टिमले २५ मिलियन अर्थात ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाउनेछन् ।

क्वाटरफाइनल पुग्ने टिमले १७ मिलियन अर्थात २ अर्ब २० करोड २८ लाख ६० हजार रुपैयाँ पाउनेछन् । अन्तिम १६ मा पुग्ने टिमहरुले १३ मिलियन डलर अर्थात १ अर्ब ६८ करोड ४५ लाख ४० हजार पाउनेछन् ।

समूह चरणमा खेल्ने टिमले ९ मिलियन अर्थात १ अर्ब १६ करोड ६२ लाख २० हजार रुपैयाँ पाउनेछन् । कतार विश्वकपको कूल पुरस्कार राशी ४४० मिलियन अर्थात ५७ अर्ब १ करोड ५२ लाख रुपैयाँ छ ।

प्रतिक्रिया