विश्वको जनसंख्या ८ अर्ब पुग्यो, सन् २०२३ मा भारतको जनसंख्या सबैभन्दा धेरै हुने
अखबार टुडे
प्रकाशित:
२०७९, २९ कार्तिक

काठमाडौं, २९ कार्तिक (एजेन्सी) । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । ११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको राष्ट्रसंघले जनाएको हो ।

बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुन्टारेसले उनले स्वास्थ्य क्षेत्रमा भएको द्रूत विकासले मानिसको आयुलाई बढाएको र मातृ तथा बाल मृत्युदरलाई घटाएको बताएका छन् ।

सन् २०१९ मा विश्वको औसत आयु ७२.८ वर्ष पुगेको थियो । सन् १९९० भन्दा यता औसत आयुमा करिब ९ वर्ष बढेको छ । सन् २०५० मा यो बढेर अनुमानित ७७.२ वर्ष पुग्ने बताइएको छ ।

राष्ट्र संघले विश्वको जनसंख्या ९ अर्ब पुग्नका लागि अब १५ वर्ष लाग्ने जनाएको छ । यसैगरी १० अर्ब जनसंख्या सन् २०८० मात्रै पुग्ने जनाएको छ ।

यस्तै, सन् २०२३ भित्र चीनमा भन्दा भारतमा सबैभन्दा धेरै जनसंख्या हुने प्रक्षेपण गरिएको छ । चीनको जनसंख्या १ अर्ब ४५ करोड २४ लाख ४७ हजार ७५१ छ भने भारतको जनसंख्या १ अर्ब ४१ करोड ७१ लाख ७३ हजार १ सय ७३ छ । सन् १९०० मा विश्व जनसंख्या एक अर्ब ६० करोड थियो, सय वर्षपछि सन् २००० सम्म आइपुग्दा ६ अर्ब पुगेको थियो ।

प्रतिक्रिया