ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जरपछि देशकै ठूलो बैंक बन्ने
अखबार टुडे
प्रकाशित:
२०७९, २९ कार्तिक

काठमाडौं, २९ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्ज हुने भएको छ । सोमबार ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले एक आपसमा गाभिनका लागि अन्तिम समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यसअघि ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि मूल्यांकन कर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।

मर्जरपश्चात बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५.७७ अर्ब, कुल निक्षेप ४०० अर्ब, कुल कर्जा ३७९ अर्ब भन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबभन्दा ठूलो बैंक बन्ने दुई बैंकले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा ग्लोबलका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

दुई बैंकको मर्जरपश्चात कुल ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरू, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बिओके देशकै ठूलो बैंक हुनेछ ।

प्रतिक्रिया