तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्चको आदेश
अखबार टुडे
प्रकाशित:
२०७९, २८ कार्तिक

काठमाडौं, २८ कात्तिक । सर्वोच्च अदालतले डा. तोसिमा कार्कीको उम्मेदवारी कायमै राख्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।

तोसिमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा उम्मेदवार हुन् ।

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो ।

त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै यसअघि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको थियो ।

कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै (भ्याकेट) निर्वाचन आयोग सर्वोच्च अदालत गएको थियो ।

आयोगको उक्त निवदेनमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदालतले पुरानै आदेशलाई निरन्तरता दिने आदेश गरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

प्रतिक्रिया