अमेरिकामा प्रदर्शनका क्रममा दोस्रो विश्वयुद्धकालीन दुई विमान आपसमा ठोक्किए
अखबार टुडे
प्रकाशित:
२०७९, २८ कार्तिक

काठमाडौं, २८ कात्तिक । अमेरिकाको टेक्ससमा दुई वटा विमानहरू एक आपसमा ठोक्किएर झरेका छन् । हवाई प्रदर्शनीका क्रममा दोस्रो विश्वयुद्धको समयमा बनेका ती पुराना विमानहरु ठोक्किएको हो ।

निकै कम उचाइमा उडिरहेका ती विमानहरू जुध्दा एउटा विमान दुई टुक्रा भएको र भुईँमा झर्ने बित्तिकै आगोको लागेको भिडिओमा देख्न सकिन्छ । दुवै विमानहरू डलास नजिकै हवाई प्रदर्शनीमा भाग लिइरहेका थिए ।

दुर्घटनामा कति मानिसहरू परे भन्ने खुल्न सकेको छैन तर दुई जना मृतकको भने नाम सार्वजनिक भएको छ । अमेरिकी एअरलाइन्सहरूका पाइलटको संस्था द एलाइड पाइलट्स असोसिएसनले टेरी बेकर र लेन रुट नाम गरेका आफ्ना पूर्व सदस्यहरूले दुर्घटनामा ज्यान गुमाएको जनाएको छ ।

यसलाई अमेरिकाको उत्कृष्ट मध्येको दोस्रो विश्वयुद्ध हवाई प्रदर्शनीको रूपमा व्याख्या गरिएको थियो । विश्वयुद्धका भेट्रानहरूको सम्मानमा आयोजना भएको तीन दिने कार्यक्रम शुक्रवार सुरु भएको थियो र ४००० देखि ६००० मानिसहरूले यसको अवलोकन गरिरहेका थिए ।

दुर्घटनामा परेको मध्येको एउटा बी–१७ बम्बरको दोस्रो विश्वयुद्धमा जर्मनी विरुद्ध जितका लागि मुख्य भूमिका थियो । अर्को विमान पी–६३ किङकोब्रा पनि त्यही युद्धमा प्रयोग भएको थियो। तर यसको प्रयोग सोभियत वायुसेनाले सैन्य प्रयोजनका लागि मात्रै गरेको थियो ।

बी–१७ मा प्रायजसो चार देखि पाँच जनासम्म चालक दलका सदस्य रहने गर्छन्। तर पी–६३ मा एक जना मात्रै पाइलट रहने एक जना आयोजकले बताएका छन् । – बीबीसीबाट

प्रतिक्रिया