
काठमाडौं, २७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसलाई पनि मन्त्री बनाउँछु भन्दै हिँडेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
आज कालिकोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले देशभरी मन्त्री बनाउँछु भन्दै प्रचण्ड हिँडेको आरोप लागए ।
प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने, ‘कतिजना मान्छेहरु जहाँ पुग्यो त्यहीँको मानिसलाई मन्त्री बनाउँछु भनिरहेका छन् । हरिबहादुर भेटियो मन्त्री बनाउँछु । रामबहादुर भेटियो उसलाई मन्त्री बनाउँछु, शान्तिदेवी देखियो मन्त्री बनाउँछु, क्रान्तिदेवी देखियो मन्त्री बनाउँछु । यस्तो खालको अव्यवहारिक र अनुचित तरिका हो ।’
दुर्गम ठाउँबाट जिताएका व्यक्तिलाई मन्त्री बनाउने स्वभाविक भएको ओलीले बताए । ‘मैले मन्त्री दिन्छु भन्ने झुट कुरा हो, देशभरी भन्दै हिँडेका छन् । जहाँको भाषण पनि मन्त्री बनाउँछु भन्ने मैले सुने,’ उनले भने, ‘जहाँका पनि मन्त्री बनाउँछु भन्ने ? १६५ जना मन्त्री बनाउने ?’
उनले सत्ता गठबन्धनले एउटा साझा घोषणा पत्र बनाउन नसकेको भन्दै ओलीले प्रश्न गरे, ‘कुन घोषणा पत्र लागु हुन्छ ?। यो जनता अल्मल्याउने कुरा हो ।’