ओलीको टिप्पणी- कांग्रेस ढोडका बैसाखी टेकेर हिँडेको छ, माधव नेपालको पार्टी रित्तिइनै सक्यो
अखबार टुडे
प्रकाशित:
२०७९, २५ कार्तिक

सुनसरी, २५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले ढोडका बैसाखी टेकेर हिँडेको बताएका छन् ।
शुक्रबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग लड्न सक्ने हैसियतको कुनै पार्टी नै नेपालमा नभएको दावी गरे ।

उनले भने, ‘नेपाली कांग्रेससँग विचार छैन, संगठन छैन । ढोडका बैसाखी टेकेर हिँडेको छ । देश विकसका सन्दर्भमा बहस गर्न कांग्रेस आओस् भनेको चाईंचुई छैन ।’

ओलीले कांग्रेसलाई एमालेसँग एक्लै चुनाव लडेर देखाउन चुनौती दिँदै भने, ‘धेरै नबुझे पनि यति चाहिँ बुझ्छ कांग्रेसले । एक्लै लड्न गयो भने कांग्रेसका पुराना सिङ पक्लक्क फुक्लिन्छन् ।’ उनले कांग्रेस सभापति शेरबहादुर देउवाले धेरैपटक एमालेले सिध्याउँछ भन्ने गरेको स्मरण गराए ।

उनले गठबन्धन हुँडारको जत्थाको संज्ञा पनि दिए । जोगी र मुसोको कथा सुनाउँदै ओलीले भने, ‘मैले प्रचण्डलाई भनेको थिएँ, दुई तिहाइ दिएको छु भन्दैमा र त्यो दुई तिहाइको दुरुपयोग गरेर एमाले सुध्याउँछु भन्ने कुबुद्धि नपलाओस् है ।’
ओलीले सुनसरीबाट अशोक राईले जित्ने र एमाले कार्यकर्ताले जिताउने घोषणा गर्दै माधव नेपालको पार्टी रित्तिइनै सकेको बताए । उनले लोसपालाई दशा लागेको बताए ।

सम्बोधनका क्रममा उनले भने, ‘जसपा यसपल्ट राष्ट्रिय पार्टी नै कायम रहन्छ । लोसपा गठबन्धनतिर लाग्यो, दिन दशा विग्रिएपछि त्यस्तै हुँदोरहेछ । अव राष्ट्रिय पार्टी रहँदैन । एउटा दुइटा सिट आयो भने सारै ठुलो कुरो ।’

ओलीले राप्रपाको पनि भविष्यवाणी गर्दै भने, ‘राप्रपा बाठो रहेछ । समयमा बुद्धि पुर्याएर ठ्याक्क समयमा आए ।’ एमाले एक्लै भएको भनेर हल्ला चलाएको भन्दै जसपा र राप्रपालाई मिलाएको र तालमेल गरेको उनले बताए ।

प्रतिक्रिया