विनोद चौधरीको चुनाव प्रचारमा गएपछि भुवन केसीलाई आयोगले सोध्यो स्पष्टीकरण
अखबार टुडे
प्रकाशित:
२०७९, २५ कार्तिक

काठमाडौं, २५ कात्तिक । निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ ।
प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै आयोगले केसीलाई स्पष्टीकरण सोधेको हो । चौधरी नवलपरासी क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका छन् ।

चौधरीको चुनाव प्रचारमा केसी सहभागी भएकाबारे समाचार आएको भन्दै त्यसबारे स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ७, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने” र ऐ. दफाको खण्ड (ख) मा “राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन नहुने” व्यवस्था छ । उल्लेखित कानूनी व्यवस्था रहेको सम्बन्धमा तपाईंले कुनै दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने भएकोले देहायका विषयमा स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’

यसका साथै आयोगले चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गरेको होइन भन्ने आधार प्रमाण के छ ? भन्दै प्रश्नसमेत गरेको छ ।

सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान रुपमा निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिको प्रचारप्रसार गरेको ठहर भएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम विभागीय कारवाही समेत हुनसक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया