
काठमाडौं, २४ कात्तिक । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली अहिले बर्बराएर हिँडिरहेको टिप्पणी गरेका छन् ।
बिहीबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन अधयक्ष नेपालले ओली उटपटयाङ कुरा गर्ने बताए । उनले भने , ‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सक्दैन भनेर । मैले नै टक्कर दिएर उनको सरकार ढालेँ । अहिले टक्कर दिएपछि केपी ओली बौलाएको होकि, के बोल्छन् बोल्छन् । बरबराएको होकि उटपटयाङ कुरा गर्छन ।’
अध्यक्ष नेपालले स्वार्थी मान्छेहरुले जनतालाई गफले अल्मलाएको समेत बताए । अध्यक्ष नेपालले केपी ओलीप्रति लक्षित गर्दै भने, ‘केही तत्वहरु स्वार्थमा गाजिएका हुन्छन् । केही केही पार्टीहरु देख्नुभएको छ । गफाडीको गफ गर्ने थलो भएको छ । केही मान्छेहरुलाई यतिकै गफ र स्वार्थमा अल्मलाएर राखेको हुन्छ ।’ उनले गफाडीको गफमा नअल्मलिनुसमेत आग्रह गरे ।
कार्यक्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ७५ जना नेता कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित भएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टी अध्यक्ष नेपालले टीका र खादा लगाएर स्वागत गरे ।
