गायिका अनिलाको ‘पपीफूल’ सार्वजनिक, खास के हो पपी फूल ? भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, २३ कार्तिक

काठमाडौं, २३ कार्तिक । बेलायतलाई कर्मथलो बनाउँदै आएकी गायिका अनिला राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

गायिका तथा गीतकार समेत रहेकी अनिलाको पछिल्लो गीत ‘पपी फूल’को भिडियोलाई आदिम आवाज अनलाइन टिभी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गायिका अनिलाले केही समय अघिमात्र ‘साकेला’ बोलको गीतको भिडियो सार्वजनिक भएको थियो । उनले केही समयता निरन्तर आफ्ना गीत सार्वजनिक गर्दै आएकी हुन् ।

करिब दुई तीन महिना अघिमात्र अनिलाको ‘एन्जेलिना’ नामक सोलो गीति एल्बम सार्वजनिक भएको थियो । एल्बम सार्वजनिक गरेपछि कर्मथलो बेलायत फर्केकी अनिलाको यो ‘पप्पी फूल’ उनका अरु गीतभन्दा फरक रहेको छ ।

गायिका अनिलाले ‘पपी फूल’लाई पहिलो र दोस्रो विश्वयुद्धका योद्धाहरु खाशगरी गोरखा आर्मीप्रति समर्पित गरेकी छन् ।
पहिलो र दोस्रो विश्वयुद्धपश्चात पश्चिम युरोप बेल्जियमको फ्लेन्डर्स भन्ने स्थानमा फूलेको रातो रंगको एक प्रकारको फूललाई पपी फूल नामले विश्वमा परिचित छ ।

गायिका अनिलाको गीति पुस्तक ‘योद्धा, पपी फूल र म’मा उल्लेख भएअनुसार त्यसबेला योद्धाहरुको रगतले जुन जुन ठाउँ वा माटोमा भिजायो, त्यही त्यही ठाउँमा यो फूल फूलेकाले पपी फूललाई योद्धाको प्रतिकका रुपमा लिइन्छ ।

वीर योद्धाहरुको गौरवका गाथालाई अनिलाले ‘पपी फूल’ गीतमा उतारेका छन् । यो गीत गायिका अनिलाको सातौँ अर्थात पछिल्लो एल्बम ‘एन्जेलिना’मा संग्रहीत छ ।

गायिका अनिलाको यो स्टुडियो भिडियो हो । तर, निकट समयमै भिडियो निर्माण गर्ने योजना रहेको अनिलाको भनाइ छ ।
झण्डै डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्र सक्रिय अनिला बेलायतमा बेसेर पनि नेपाली गीत संगीतमा योगदान पुर्याउँदै आएकी छन् । रहर र इच्छाले गायन अँगालेकी अनिला भन्छिन्, ‘यो सास रहुँञ्जेल गीत संगीतमै रमाउने छु ।’

प्रतिक्रिया