रमेशराजले पाए ‘सर्वोकृष्ट नव पप गायक’को अवार्ड
अखबार टुडे
प्रकाशित:
२०७९, २३ कार्तिक

काठमाडौं, २३ कार्तिक । गायक रमेशराज लिम्बूले क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा सर्वोकृष्ट ‘नव पप गायक’को अवार्ड जितेका छन् ।
सोमबार काठमाडौंमा सम्पन्न अवार्ड समारोहमा ‘यो मौसम पनि’ बोलको गीतबाट रमेशराजले अवार्ड हासिल गरेका हुन् । यो गीत गायक रमेशराज लिम्बूको ‘रिक्वेस्ट’ एल्बममा समावेश छ ।

नेपाली सांगीतिक क्षेत्रमा करिब डेढ दशकदेखि सक्रिय रहेका गायक रमेशराजले तीन वटा सोलो एल्बम र थुप्रै गीतहरुमा स्वर दिइसकेका छन् । तर, उनले अवार्ड पाएको भने यो पहिलो पटक हो ।

अवार्ड पाएपछि गायक रमेशराजले भने, ‘गीतसंगीत क्षेत्रमा लागेको डेढ दशकपछि अवार्ड पाएको छु । यो अवार्डले मलाई गीतसंगीत क्षेत्रमा थप हौसला मिलेको छ ।’

तेह्रथुमको म्याङ्लुङ–५ अम्फवाका गायक रमेशराजले २०६२ सालमा मोफसल धरानदेखि गीतसंगीतलाई अँगाल्दै आएका हुन् । उनी गायनसँगै म्युजिक भिडियो निर्देशन तथा मोडलिङ समेत गर्दै आएका छन् । नेपाली फिल्म ‘अन्धोपन’मा समेत अभिनय गरेका रमेशराजले आफू अभिनय गरेपनि मुख्य रुपमा आफूलाई गायककै रुपमा चिनिन चाहन्छन् ।

उनी भन्छन्, ‘गीतसंगीत मेरो प्यासन हो भने अभिनय र निर्देशन बाध्यता हो । मोडलिङ गर्ने चाहिँ मेरो रहर पनि हो ।’ पछिल्लो समय गीतसंगीतमै व्यस्त रहेका रमेशराजले भने, ‘अब चाँडै आठ/दश वटा मेरो गीत आउँदैछन् ।’

प्रतिक्रिया